अफगानिस्तानमा हिजो राति आएको भुइँचालो नेपालको भन्दा कति फरक?

भौगर्भिक दृष्टिबाट हेर्दा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान लगायत दक्षिण एसियाली मुलुकहरू एउटै टेक्टोनिक प्लेटमा पर्छन्। अर्थात्, यी मुलुकहरू एउटै ठूलो चट्टानी खण्डमाथि बसेका छन्।

यहाँ इन्डियन प्लेट युरेसियन प्लेटमुनि घुस्रिरहेकाले भुइँचालोको जोखिम अत्यन्तै धेरै छ। इन्डियन र युरेसियन प्लेटको घर्षणकै कारण २०७२ सालमा नेपालमा भुइँचालो आएको थियो।

एउटै भौगर्भिक खण्डमा पर्ने भए पनि अफगानिस्तानमा मंगलबार राति आएको ६.५ म्याग्निच्युडको भुइँचालोको प्रकृति नेपालको भन्दा केही फरक छ।

अफगानिस्तानको भुइँचालोको तरंग जमिनको सतहभन्दा करिब दुई सय किलोमिटर मुनिबाट सुरू भएको थियो। त्यसैले यो नेपालको भन्दा निकै गहिराइबाट आएको भुइँचालो हो। नेपालमा २०७२ सालमा भुइँचालो आउँदा जमिनको सतहभन्दा जम्मा १० किलोमिटर तलबाट तरंग उत्पन्न भएको थियो।

कम गहिराइबाट उत्पन्न हुने तरंग कम समयमै जमिनको सतहसम्म आइपुग्छ। त्यसैले यसले ल्याउने कम्पन निकै ठूलो हुन्छ, जुन नेपालको भुइँचालोमा महसुस गरियो। तर यस्तो भुइँचालो तरंगले लामो दुरी यात्रा गर्दैन।

अफगानिस्तानमा भने जमिनको सतहभन्दा निकै तलबाट भुइँचालो तरंग उत्पन्न भएकाले त्यसको कम्पन निकै टाढा पाकिस्तानदेखि भारतसम्म महसुस गरियो। यस्तो तरंगलाई सतहसम्म आइपुग्न धेरै समय लाग्छ। त्यसैले कम्पनको शक्ति कम हुन्छ। यति हुँदाहुँदै दिल्ली लगायत ठाउँमा ठूलै झट्का महसुस गरिएको भारतीय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।

अर्को फरक भुइँचालोको परकम्पन हो।

अफगानिस्तानको जस्तो निकै गहिराइबाट उत्पन्न हुने भुइँचालोले खासै धेरै परकम्पन ल्याउँदैन। भुइँचालो तरंग जति कम गहिराइबाट सुरू भयो, त्यसको परकम्पन उति धेरै हुन्छ।

अफगानिस्तानमा गएराति भुइँचालो आएपछि परकम्पन रेकर्ड गरिएको छैन। नेपालमा भने अहिलेसम्म सयौं परकम्पन आइसकेको थियो। यति मात्र होइन, गत महिना टर्कीमा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा पनि सयभन्दा बढी साना-ठूला परकम्पन आएका थिए। टर्की भुइँचालोको गहिराइ करिब १८ किलोमिटर थियो।

भौगर्भिक रूपले अफगानिस्तान हिन्दु कुश क्षेत्रमा पर्छ। यो हिमाली क्षेत्रकै हिस्सा हो। यसलाई इन्डियन र युरेसियन प्लेटको सीमाना मानिन्छ। त्यसैले नेपालजस्तै अफगानिस्तान पनि भुइँचालो जोखिममा पर्छ। तर, अफगानिस्तानमा आउने धेरै भुइँचालो जमिनको सतहभन्दा सय किलोमिटरभन्दा बढी गहिराइबाट उत्पन्न हुन्छन्।

अफगानिस्तानमा मंगलबार राति आएको भुइँचालोमा अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको छ भने सय जनाभन्दा बढी घाइते भएका छन्। अमेरिकी भौगर्भिक सर्वेक्षण (युएसजिएस) का अनुसार राति १० बजेर १७ मिनेट जाँदा आएको भुइँचालोको केन्द्रविन्दु अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो।

उक्त भुइँचालोले पाकिस्तानको उत्तरी क्षेत्रमा दुई जना बालबालिकासहित कम्तिमा नौ जनाको मृत्यु भएको खैबर पख्तुनख्वा प्रान्तको आपतकालीन उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बेलायती समाचार संस्था गार्डियनलाई बताएका छन्।

खैबुर पख्तुनख्वा प्रान्तमै भुइँचालोका कारण सय जनाभन्दा बढी घाइते भएको पनि उनले जानकारी दिए। भुइँचालोका कारण आएका पहिरोले उत्तरी पाकिस्तानी सहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।

त्यस्तै, अफगानिस्तानको उत्तरपूर्वी प्रान्त लाघमानमा कम्तिमा दुई जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अमेरिकी समाचार संस्था सिएनएनलाई बताएका छन्। उनका अनुसार कम्तिमा आठ जना घाइते भएको रिपोर्ट प्राप्त भएको छ।

गत वर्ष पनि अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.१ म्याग्निच्युडको भुइँचालो जाँदा हजार जनाभन्दा बढीको ज्यान गएको थियो।

प्रतिक्रिया गर्नुहोस्