दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ड्र सार्वजनिक गरिएको छ।
आगामी असार ६ देखि सुरु हुने १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ।
नेपाल रहेको समूह ‘ए’ मा भारत, कुवेत र पाकिस्तान छन्। समूह ‘बी’ मा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसअघि साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्।
अब कुवेत र लेवनानसँगै साफका ६ टिम गरी कुल ८ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन।
साफ च्याम्पियनसिप असार ६ देखि १९ सम्म भारतको बेंगलुरूमा हुँदैछ।
सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो।
सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो।
१३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको उच्च प्रदर्शन हो।
प्रतिक्रिया गर्नुहोस्