दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म 'आदिपुरुष' को ट्रेलर सार्वजनिक भएको छ।
मंगलबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ।
केही समयअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो। टिजर सार्वजनिक भएसँगै प्रशंसाभन्दा धेरै आलोचना भयो। फिल्ममा प्रयोग गरिएको भिएफएक्सका कारण धेरैले यसलाई कार्टुन, एनिमेसदेखि भिडिओ गेमसम्म भने।
भिएफएक्सको गुणस्तर राम्रो नभएकाले यसमा पात्रका अनुहार, शरीरदेखि सबैजसो दृश्य एकदमै नक्कली लागेको टिप्पणी भएको थियो। सस्तो भिएफएक्समा फिल्म बनाएको भन्दै आदिपुरुषका निर्माण टोलीको आलोचना समेत भएको थियो। यसैबीच निर्माण टिमले पुनः भिएफएक्स गर्न फिल्मको प्रदर्शन मिति सारेका थिए।
जनवरी १२ मा प्रदर्शन हुने भनिएको फिल्म जुन १६ मा सारिएको हो।
हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म ‘आदिपुरुष’ ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ।
आदिपुरुष थ्री-डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्म टिमले बताएको छ।
पहिला ‘आदिपुरुष’ करिब ५ सय करोड भारूमा बनेको बताइएको थियो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार पुनः भिएफएक्स भएसँगै फिल्मको बजेट करिब ६ सय करोड भारू पुगेको छ। योसँगै ‘आदिपुरुष’ भारतकै महँगो फिल्म भएको छ।
प्रतिक्रिया गर्नुहोस्