नारायणगढमा शुक्रबार र शनिबार 'चित्तौन कचेहेरी'

चितवनको नारायणगढमा फरक विचारको उत्सवको रूपमा 'चित्तौन कचेहेरी' हुँदैछ।

विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा नारायणगढको नारायणी कला मन्दिरमा कचेहेरी गर्न लागिएको हो।

यो कार्यक्रम मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।

कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी प्यानल छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिने आयोजक समितिका संयोजक सरिता तिवारीले बताइन्। 

कार्यक्रममा मान्छेका जीवन-मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने उनले बताइन्।

कचेहेरीको पहिलो दिन ७ वटा विषयमा प्यानल छलफल हुनेछ।

'घर गाउँको सिंहदरबारः कति विकास, कति शासन?, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्थित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति' विषयमा शुक्रबार प्यानल छलफल हुनेछ।

शुक्रबार नै ,थाहा? सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा, नाटक प्रस्तुत गरिने तिवारीले बताइन्। साथै कविता वाचन पनि हुनेछ। 

 

शनिबार 'विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?, कसरी लेखिँदैछ चितवनको आख्यान?, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि' शीर्षकमा प्यान छलफल हुनेछ।

'स्वप्नबयान' नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम पनि शनिबार रहेको तिवारीले बताइन्।

प्रतिक्रिया गर्नुहोस्