आँखामा हेरेर रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ दाङ पुगे, सल्यान-रोल्पादेखि मान्छेको घुइँचो

आँखामा हेरेर, छोएर र शरीरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै ठग्ने सिमान्त गुरू भनिने भरत केसी आइतबार दाङ पुगेका छन्।

दाङमा उनी आउने भएपछि आसपासका जिल्ला सल्यान र रोल्पाका मानिसहरूको घुइँचो लागेको छ।

'अलौकिक मनोवैज्ञानिक क्षमता' का ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर फैलिएलगत्तै मानिसहरू बिहान ३ बजेदेखि नै मन्दिर परिसरमा लाइनमा बसेका छन्।

सल्यान, रोल्पा तथा आसपासका जिल्लाका केही मानिसहरू शनिबार नै तुलसीपुरका होटलमा आएर बसेका छन्।

केसीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिसिद्धेश्वरी मन्दिरमा सर्वसाधारणलाई भेट्ने कार्यक्रम राखेका थिए।

स्थानीय प्रशासनले उनलाई सार्वजनिक स्थानमा उक्त कार्यक्रम गर्न रोक लगाइदिएको छ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले उपचार गराउने बहानामा सार्वजनिक स्थलमा गरिएको कार्यक्रम भीडभाडमा कारण बन्द गर्नुपरेको जानकारी दिए।

‘सार्वजनिक स्थलहरूमा त्यस्ता कार्यक्रमहरु गर्न पाइँदैन,’ प्रजिअ वैद्यले भने, ‘उहाँले निजी होटल वा अन्य कुनै ठाउँमा कार्यक्रम गरे आपत्ति छैन।’

केसीले आफ्नोमा उपचार गराउन आउने मानिसहरूसँग पैसा पनि उठाउने गरेका छन्।

यसरी हाकाहाकी ठगी गरेको देखिने कार्यक्रम होटलका कोठामा चाहिँ गर्न पाइन्छ त भन्ने प्रश्नमा प्रजिअ वैद्यले स्थानीय प्रशासनलाई अहिलेसम्म केसीले पैसा उठाएको भन्ने जानकारी नआएको बताए।

‘हामीले पैसा उठाउने अनुमति केही दिएका छैनौं र होटल वा कुनै निजी ठाउँमा आस्था विश्वासका हिसाबले थाहा नपाउने गरी गरे ठिक छ,’ वैद्यले भने।

त्यसको अर्थ त सार्वजनिक स्थानमा होइन तर निजी ठाउँमा अफवाह फैलाएर ठग्न पाइन्छ भन्ने खोले भएन र? भन्ने प्रश्नमा वैद्यले भने, ‘ठग्ने भन्दा पनि यो  मानिसको आस्था कुरा हो र यसमा कुनै गुनासो नआउने गरी गर्छन् भने आँखा चिम्लने कुरा हुन्छ। तर, बकाइदा रसिद काटेर पैसा उठाउने काम भने गर्न पाइँदैन। आफू खुसी कसैले दिन्छ भने कसको के लाग्छ र!’

सामाजिक सञ्जालका माध्यमबाट अफवाह फैलाउने, भ्रम सिर्जना गर्ने व्यक्तिलाई पक्राउ गर्ने दायित्व प्रशासनको हैन र? भन्ने अर्को प्रश्नमा प्रजिअ वैद्यले थपे- यो  काम ठाउँठाउँमा गर्दै आएको छ भन्छन्, काठमाडौंमा पनि गरेको भन्छन्। त्यसैले सार्वजनिक स्थानमा होइन अरू ठाउँमा गुनासो नआउने गरी गरेको भए ठिकै छ तर ठगेकै हो भने त नियन्त्रण पनि गर्नुपर्ने हुन्छ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सिमान्त गुरू भनिने भरत केसीले संस्था नै दर्ता गरेर यो काम गरिरहेको बताए।

‘हामीले हेर्दा उनले बालाजुमा अलौकिक मनोवैज्ञानिक ज्योतिष प्रालि भन्ने एउटा संस्था नै दर्ता गराएका रहेछन्। कम्पनी रजिष्टारको कार्यालयमा पनि संस्था दर्ता गरेर काम गरिरहेको मान्छेलाई उजुरीबिना समाउने कुरा भएन,’ कडायतले भने, ‘कसैले ठगेको भनेर उजुरी दिए उनी अनुसन्धानको दायरामा आउँछन्।’

प्रतिक्रिया गर्नुहोस्