सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेर सार्वजनिक गर्ने तयारी गरेको छ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका सबै दललाई अध्ययनका लागि दिइएको र सुझावसमेत प्राप्त भइसकेकोले अब सत्ता गठबन्धन बैठक गरी पारित गरेर सार्वजनिक गर्ने तयारी छ।
न्यूनतम साझा कार्यक्रम बनाउन काम गरिरहेका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले न्यूनतम साझा कार्यक्रम तयार पार्ने काम सकिएको र प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यदलले बुझाइसकेको बताए।
अब प्रधानमन्त्रीले सत्ता गठबन्धन बैठक राख्ने र छिट्टै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ।
गठबन्धन सरकार बनेका बेला विभिन्न विषयमा सामूहिक धारणासहित अघि बढ्दै काम गर्न सरकारका न्यूनतम साझा कार्यक्रम बनाउने गरिएका छन्।
यसअघि गत पुस १० मा बनेको तत्कालीन गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम ल्याएको थियो। त्यसअघि चुनाव गराएको सरकारले पनि सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएको थियो।
प्रधानमन्त्री दाहालले भिन्न-भिन्न विचार बोकेका राजनीतिक दलबीच गठबन्धन बनेर सरकार बनेको भए पनि न्यूनतम साझा कार्यक्रम तय गरेर त्यसअनुसार अघि बढ्ने बताइरहेका छन्।
प्रतिक्रिया गर्नुहोस्