मधेस प्रदेश स्थित रौतहट जिल्ला स्थायी घर भएका एक्काइस बर्षीय राम सागर सनि काठमाडौंमा पान व्यापार गरेर गएको चार-पाँच बर्षदेखि आफ्नो दैनिक गुजारा चलाई रहेका छन् । ड्राइभिङ लाइसेन्स पनि भएका रामले पान बेचेरै महिनाको बीस-पच्चिस हजार कमाउने गरेको उनी बताउछन् । करिब पाँच बर्ष अघिबाट काठमाडौं स्थित बालाजु बाइपासको बजार क्षेत्रमा पान बेच्दै हिड्ने रामले एकै दिनमा औषत आठ सय देखि एक हजार सम्म कमाउने गरेका छन् ।
सन्देश टुडेसँगको कुराकानीमा उनी भन्छन् “ड्राइभिङ लाइसेन्स पनि छ मसँग, विदेशका लागि पनि प्रयास गर्दैछु, घरको आर्थिक अवस्था अत्यन्त नाजुक छ, पान बेचेर त काठमाडाैँमा आफूमात्र बाँच्न सकिने रहेछ, अब साहूको ऋण तिर्न भएपनि विदेश जानु पर्छ जस्तो लागेको छ”। पान अत्याधिक बिक्रि हुने र पानको सिजन चाँहि दसै तिहार नै हो । त्यसो त फुटपाथमा ब्यापार गर्न काठमाडाैँमा त्यस्तो सरल भने छैन, महानगरले फुटपाथका व्यापारीहरुलाई धमाधम उठाइ रहेको छ तर अन्य फुटपाथका व्यापार जस्तो पान व्यापारलाई महानगरको कुनै हस्तक्षेप छैन ।
बिहान नौ-दश बजेबाट व्यापार थाल्ने उनी बेलुका आठ-नौ बजे सम्म व्यापार गर्छन् । सादा पान, मिठा पान, जर्दा पान, संगम पान, कान्सि पान लगायत बिभिन्न प्रकारका फरक फरक स्वाद भएका पान बनाउन सक्ने क्षमता आफूमा रहेको उनी बताउछन् । एक खिल्ली पानलाई रु. ४० देखि रु. १५० सम्ममा बेच्ने राम नेपाल सरकारले नेपालमै रोजगारिको अवसर सृजना गरेर स्वदेशमै केहि काम गर्ने वातावरण मिलाई दिए आफ्नै देशमा काम गर्न सहज हुने उनको भनाई छ ।
प्रतिक्रिया गर्नुहोस्