२१ बर्षअघि ललितपुरका सुलोचना श्रेष्ठ र समीर नेवा दम्पत्ति जुम्ला पुगेका थिए। समीर युएनडिपीको एउटा परियोजनामा काम गर्थे। सन् २००१ मा उनी जुम्ला जानुपर्ने थियो। त्यतिबेला उनकी श्रीमति सुलोचना पनि सँगै गईन्।
जुम्लामा लटरम्मै स्याउ फलेका थिए। एउटा घरमा पसेर सुलोचनाले १० वटा जति स्याउ मागिन्। उनले त्यसको ५० रूपैयाँ दिइन्। तर कृषकले पाँचरुपैयाँ मात्र लिए। काडमाडौंमा महंगो स्याउ किनेर खाने सुलोचना छक्क परिन्।
‘मलाई जुम्लाको धेरै कुराले मलाई छोयो, त्यतिबेला जुम्लामा मैंले १० वटा स्याउ मागेर ५० रुपैयाँ दिँदा ती कृषकले पाँच रुपैयाँ मात्र लिनुभयो,’ सुलोचनाले भनिन्,'यस्तो अर्ग्यानिक उत्पादनको कुनै मूल्य नभएको देखेर मन खायो।'
उनलाई त्यतिखेर जुम्लामा देखेभेटेका अन्न, फलफूल तरकारी बजारमा पुग्ने भए कस्तो हुन्थ्यो होला भन्ने सोचाइ आएको थियो।
दुवैको जागिर थियो। जुम्लाबाट फर्किएपछि उनीहरूले त्यहाँका कृषि उत्पादनबारे धेरै कुरा गरे। सोचे। पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने कृषि वस्तुको बजारीकरण गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे।
उनीहरूले कृषकबाट सामान किन्न र लगेर काठमाडौंमा बेच्न सुरु पनि गरे। १ हजार ६०० मिटर उचाईमा उत्पादन हुने वस्तुको बजारिकरण राजधानीदेखि भयो।
जुम्लाको रातो मार्सी, सिमीलगेर उनीहरुले काठमाडौं उपत्यकाका डिपार्टमेन्ट स्टोरदेखि घरसम्म पुगेर बिक्री गरेको बताउँछन्। उनीहरुले सोचेजस्तै गरि बिक्यो पनि।
कर्णालीको उत्पादन काठमाडौंमा पुर्याउन उनीहरू बसोबासै परिवर्तन गर्न परेको छ। ललितपुरका बासिन्दा भएपनि सुर्खेत बस्छन्।
उनीहरुले जागिर छोडेपछि धेरै ठाउँमा जग्गा लिजमा लिएर उत्पादनको क्षेत्रमा काम गरे। जैविक मल बनाउने, जैविक बिउ आयात गर्ने प्रयासमा आफूहरु लागेको सुलोचनाले बताइन्।
जैविक उत्पादन र त्यको बजारीकरण गर्नेक्रममै उनीहरुलाई एउटा गैरसरकारी संस्थाले कर्णालीमा कम्पनी स्थापना गरेर काम गर्न सल्लाह दिएको थियो। त्यही सल्लाहपछि उनीहरूले सुर्खेतमा आएर ‘द अर्ग्यानिक भ्याली प्रालि’ नामक कम्पनी खोले।
गैरसरकारी संस्थाले दिएको सल्लाहअनुसार कर्णालीमा कम्पनी स्थापना गर्न अध्ययनका लागि आउँदा उनीहरुले सुर्खेतको भेरीगंगा–५ मा तोलीखोलालाई उपयुक्त ठानेका थिए। कोहलपुर–सुर्खेत राजमार्ग नजिक रहेको उक्त ठाउँमा उनीहरुले सन् २०१३ देखि ‘द अर्ग्यानिक भ्याली प्रालि’ स्थापनाको काम सुरु गरे।
सुरुमा यो कम्पनी स्थापना गर्न उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले ६५ लाख रुपैयाँ सहयोग गरेको थियो।
त्यसपछि सञ्चालकले किसानसँग सम्झौता गर्न सुरु गरे। उनीहरुसँग अहिले सुदूरपश्चिमको डोटी, कर्णालीका सुर्खेत, सल्यान र रुकुमका कृषकहरु १ हजार २३२ जोडिएका छन्। उनीहरुले उत्पादन गरेको अदुवा र बेसार सुर्खेतमा आईपुग्छ।
उनीहरुले संयुक्त रुपमा कम्पनी दर्ता गरेपछि त्यसमार्फत् जुम्लाको मार्सी, सिमी सहित अरु क्षेत्रका उत्पादनलाई बजारीकरण गर्न सुरु गरेका थिए।
‘त्यो समयमा काठमाठौंमा रातो मार्सी देखेपछि यो के हो भनेर सोध्थे, अहिले त्यसको छुट्टै मार्केट बनेको छ।’ सुलोचनाले भनिन्।
अहिले भने यो क्षेत्रको अदुवा, बेसार, टिमुर जस्ता मसलाजन्य उत्पादन प्रशोधन गरेर जर्मन निर्यात गर्छन्।
'हामीले सन् २०१० देखि १६ सम्म खरिदकर्ता खोज्न विभिन्न क्षेत्रमा अध्ययन गर्यौं, कृषि उत्पादन प्रवर्द्धनका लागि गरिने मेलाहरूमा भाग लियौं, त्यो क्रममा हामीले केही खरिदकर्ता पायौं,' उनले भनिन्।
आगामी बर्षदेखि सिस्नो पनि निर्यात गर्ने योजना उनीहरुको छ। यसका लागि सिस्नोको बिउ पनि ल्याएर परीक्षण भईरहेको छ। पहिले कम्पनीले परीक्षण गर्ने र सफल भए कृषकलाई उत्पादन गर्न दिईने उनले बताईन्।
त्यतिबेलै पहाडी र हिमाली क्षेत्रमा उत्पादित कोदो, सिमी, फापर जस्ता वस्तुहरू आफूसँग भएपनि अन्तर्राष्ट्रिय बजारमा मसलाजन्य वस्तु अदुवा र बेसारको माग बढी भएकाले यसमा केन्द्रित भएको सुलोचनाले बताइन्।
देश बाहिरका खरिदकर्ता पाएपछि उत्पादन पनि बढी चाहिने भयो। अनि कृषकहरु खोजे।
‘हामीले यो कम्पनी सुर्खेतमा स्थापना गर्नुअघि नै देशभरका करिब ४ हजार किसानसँग प्रत्यक्ष जोडिएर काम गरिसकेका थियौं, तर त्यसलाई दस्तावेजीकरण नगरिएकाले यहाँ फेरि कृषक खोज्नुपरेको हो।’ सुलोचनाले भनिन्।
अहिले उनीहरुसँग जोडिएका कर्णाली र सुदूरपश्चिमका किसाले ८४० हेक्टर जमिनमा उत्पादन गरेको बेसार, अदुवा सुर्खेत आउँछ। ती किसानहरुलाई अग्र्यानिक उत्पादन उपलब्ध गराउनेगरी प्रमाणीकरण गरिएको छ।
प्रमाणीकरण भएका किसानहरुले पनि प्रत्येक सिजनमा वार्षिक ‘किसान डायरी’ भर्नुपर्छ। आफूले त्यो बर्ष रोपेको जात, प्रयोग गरिएको मल, भएको उत्पादन डायरीमा किसानले भर्छन्। त्यसलाई प्राविधिक टोलीले हिसाब गर्दा विषादी प्रयोग गरे/नगरेको थाहा हुन्छ।
सम्झौता गरिएका कृषकहरुलाई जैविक मल बनाउन पनि तालिम पनि दिईएको उनले बताईन्।
कम्पनी स्थापना भएको गाउँ तोलीखोलाका कृषकहरुको जमिन बर्षमा सात महिना (गहुँ लगाउने सिजनमा) कम्पनीले नै भाडामा लिन्छ। बाँकी धान फल्ने सिजन भने कृषकहरुले आफैं प्रयोग गर्छन्।
‘अहिले कम्पनीमै आएर कृषकको उत्पादनमा ग्रेडिङ गरिन्छ, यसले कृषकहरुलाई घाटा हुने देखिएपछि आगामी बर्षदेखि गाउँमै ग्रेडिङ गर्ने योजना बनाएका छौं,’ सञ्चालक सुलोचनाले भनिन्, ‘त्यही भएर हामीले प्रदेश सरकारलाई कृषकहरूलाई अनुदान दिन भन्ने गरेका छौं।’
उनीहरुले यसअघि डोटीको सहजपुरमा पनि संरचना बनाएर प्रशोधन गर्ने गरेका थिए। त्यहाँ घाम कम लाग्ने भएकाले अदुवा सुक्न समय लाग्ने भएपछि त्यताको उत्पादन पनि सुर्खतमै ल्याएर प्रशोधन गर्न थालिएको हो।
कर्णाली र सुदूरपश्चिमका चार जिल्लाका १ हजार २३२ किसानले उत्पादन गरेको २ हजार टन औषतमा अदुवा–बेसार सुर्खेत आईपुग्ने गरेको सुलोचनाले बताईन्। गत बर्ष मात्र २ हजार ३ सय टन अदुवा खरिद द अग्र्यानिक भ्याली सुर्खेतमा झरेको थियो।
यसलाई प्रशोधन गरेर चाना बनाएर सुकाउँदा साढे ८ किलोग्रामबाट एक को एक किलोग्राम बन्छ। उनका अनुसार गत बर्ष २३६ टन सुकेको अदुवा जर्मन पठाईएको थियो। जर्मन पठाउँदा प्रतिकिलोग्रामको मुल्य ३–५ युएस डलर पाउने गरेको उनले बताईन्।
सम्झौता भएका कृषकहरुले अदुवाको ३२–३६ रुपैयाँ पाउँछन्। सुर्खेतबाट वीरगञ्ज, कोलकत्ता हुँदै प्रशोधित वस्तु जर्मन पुग्ने गरेको छ।
‘हाम्रो प्रशोधित कृषि वस्तु जर्मनमा पनि एउटा कम्पनीले किन्छ, त्यसले हाम्रो वस्तुमा केही ठूलो खराबी भने देखाएको छैन। किनभने उनीहरु पनि दीगो कृषिका क्षेत्रमा काम गर्ने भएकाले सानोतिनो गुनासो गर्दैनन् होला,’ सुलोचनाले भनिन्, ‘कहिलेकाहीँ ढुसीको बारेमा भने सचेत गराउनुहुन्छ, हाम्रोबाट कन्टेनर आउन, लिन समय लगाउने भएकाले त्यहाँ पुग्दासम्म केही ढुसी लाग्छ।’
सुर्खेतमा भएको द अग्र्यानिक भ्यालीको कर्पोरट कार्यालय ललितपुरको बखुण्डोलमै छ।
कम्पनीमा सुर्खेतका स्थानीयसहित केही शेयर सदस्य छन्। कम्पनीको बोर्डमा सुलोचना, उनका श्रीमान समीर नेवा र अर्का एकजना सदस्य छन्।
कम्पनीमा अहिले ३५ जना स्थायी कर्मचारी छन् भने सुर्खेतमै काम गर्ने स्थानीय १५० जना कामदार छन्। तीमध्ये १२० जनाले नियमित कम्पनीमा काम गर्छन् भने ३० जना वैकल्पिक कामदारका रुपमा छन्।
कामदारमध्ये ८७ प्रतिशत महिला रहेको सुलोचनाले बताईन्।
‘हामीले स्थानीय महिलाको आम्दानीलाई पनि लक्षित गरेका हौं, तर हाम्रो नीतिमा २५ किलोभन्दा बढी वजन भएको भारी नउठाउने छ। यसले गर्दा अरु १३ प्रतिशत पुरुषलाई हेभी काम गर्नुपरेमा सहज हुने भएकाले राखेका छौं।’ उनले भनिन्।
विदेशबाट फर्किएका स्थानीय युवाहरु फेरि विदेश जान खोजे भने सकेसम्म आफ्नो कम्पनीमा काम दिएर बसाल्ने प्रयास पनि गरिएको उनले बताईन्।
सुर्खेतमा काम गर्ने कामदारका साना बालवालिकालाई पढाउन द अर्ग्यानिक भ्याली प्रालिले नै विद्यालय स्थापना गरिदिएको छ। विद्यालयमा युकेजीसम्म पढाउनका लागि तीन जना शिक्षिका राखिएको छ। ‘यहीँका कामदारमध्येबाट तालिम दिएर शिक्षक बनाएका छौं, बच्चाहरुलाई खाना, खाजा यतै खुवाउने गेरका छौं,’ उनले भनिन्, ‘अहिले विद्यालयमा ३० जना बालवालिका छन्, स्कुलका बच्चा र शिक्षिकाहरुको साप्ताहिक रुपमा स्वास्थ्य चेकजाँच गर्न एक जना स्वास्थ्यकर्मीसँग सम्झौता गरेका छौं।’
कम्पनीले अर्ग्यानिक प्रमाणीकरणमा बार्षिक ४४ लाख खर्च गर्ने गरेको सञ्चालक तथा बोर्ड सदस्य समीर नेवाले बताए। बाहिर निर्यात गर्दा बार्षिक एक करोड रुपैयाँ कार्गोमा खर्च हुने गरेको उनले बताए।
उनका अनुसार अब सुर्खेत, सल्यान, रुकुम र डोटीमा स्थानीय सरकारसँग सहकार्य गरी एक/एक वटा अदुवा प्रशोधन उद्योग खोल्ने योजना छ। यसका लागि स्थानीय सरकार तयार भईसकेको उनले बताए।
‘हामीले २० प्रतिशत लगानी गरेर उद्योग खोल्ने र पाँच बर्षपछि त्यहाँको स्थानीय सहकारी, समूह वा व्यापारीलाई सञ्चालन गर्न दिन, हामीले उत्पादन मात्र किन्ने अवधारणा छ।’ नेवाले भने।
सुर्खेतको उद्योग पनि पाँच बर्षमा स्थानीय शेयर सदस्यलाई सञ्चालन गर्न हस्तान्तरण गर्ने योजना भएपनि सफल हुन नसकेको उनले बताए।
प्रतिक्रिया गर्नुहोस्