शीर्ष स्थानको जावलाखेललाई हराउँदै खुमलटार पुछारबाट तीन स्थान उक्लियो

सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको टिम जावलाखेलले अर्को हार बोहोरेको छ। जावलाखेललाई आज भएको खेलमा एफसी खुमलटारले ४-२ गोलले पराजित गर्‍यो। 

खुमलटारका लागि स्टेफिन बिनोङले ह्याट्रिक गरे। उनले खेलको २०, पहिलो हाफको इन्जुरी टाइम र ५१ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यस्तै मेसाउकेले दोस्रो हाफको इन्जुरी टाइममा चौथो गोल गरे। 

४२ मिनेटमा खुमलटारका रोहित सुब्बाले आत्मघाती गोल गर्दा जावलाखेलका लागि विनोद केसीले दोस्रो हाफको इन्जुरी टाइममा दोस्रो गोल गरे। 

हारपछि पनि शीर्ष स्थानमा रहेको जावलाखेलको १५ खेलबाट २४ अंक छ। खुमलटार भने १७ अंकसहित एघारौं स्थानमा छ।

यता नेपाल पुलिस क्लबमाथि हिमालयन शेर्पाले २-१ गोलको जित निकाल्यो। शेर्पाका लागि फकुनेले १४ र अमृत श्रेष्ठले ५१ मिनेटमा गोल गरे। 

पुलिसका लागि सौजन राईले ३० मिनेटमा बराबरी गोल गरेका थिए। 

जितपछि शेर्पा २० अंकसहित सातौं स्थानमा उक्लियो भने पुलिस १५ अंक जोडेर १३औं स्थानमा झर्‍यो।

प्रतिक्रिया गर्नुहोस्