मनाङको नयाँ प्रशिक्षकमा विष्णु गुरुङ

यस मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त भएका छन्। गुरुङ र मनाङबीच बिहीबार सम्झौता भएको हो। 

उनलाई चालूसहित दुई सिजनका लागि क्लबमा अनुबन्धन गरिएको मनाङको भनाइ छ।

बिहीबार क्लबका अध्यक्ष विजय घले र मुख्य प्रशिक्षक गुरुङले औपचारिक सम्झौता पत्रमा हस्ताक्षर  गरेका थिए। 

सहिद स्मारक ए डिभिजन लिगमा लगातार खराब प्रदर्शन गरेपछि यसअघिका प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका थिए। 

नेपाली राष्ट्रिय टिमको सहायक प्रशिक्षक रहिसकेका श्रेष्ठ सिजनको सुरुवातमा क्लबको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

लिगको १३ राउन्डको खेल सकिदा मनाङ पछिल्ला ६ खेलमा पराजित भएको थियो। लिगमा मनाङको यो अहिलेसम्मकै खराब प्रदर्शन हो।

लिगको सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ लगातार ६ खेलमा पराजित हुने क्रममा चर्च ब्वाइजसँग ३-० गोलले हारेको थियो। 

त्यसअघि मनाङलाई नेपाल पुलिस, खुमलटार, त्रिभुवन आर्मी, जावलाखेल र सातदोबाटोले पराजित गरेका थिए। 

मनाङले ६ खेलको पराजयको यात्रा टुंगाउने क्रममा गत सोमबार आर्मीलाई १-० गोलले हराएको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०, १०:५८:००

प्रतिक्रिया गर्नुहोस्