एकअर्काको फिल्मलाई ओटिटीमा रिलिज गर्दै नेपाली र दक्षिण भारतीय निर्माता

नेपाल र भारतका फिल्म सम्बन्धित दुई संस्थाले आफ्नो मुलुकमा बनेका फिल्मलाई एकअर्काको देशमा प्रदर्शन गर्ने भएका छन्। आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो-नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा दुई देशका फिल्म ओटिटी र हलमा रिलिज गर्ने सहमति भएको हो। 
 
नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच संस्कृतिसँगै फिल्मको बजार आदानप्रदान गर्ने सहमति जुटेको हो।
 
समिटको प्रमुख अतिथिको रूपमा सहभागि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले द्धिपक्षीय सहमतिलाई नेपाली फिल्मको हितमा प्रयोग गर्न आग्रह गरे। नेपालमा छायांकन हुने दक्षिण भारतीय फिल्मलाई स्वागत गर्न बोर्ड आतुर रहेको बताए।
 
एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रूपमा आफूहरूले एकअर्काको फिल्मलाई रिलिज गर्ने तयारी गरिरहेको बताइन्। उनका अनुसार नेपाली फिल्मलाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतका ओटीटीमा रिलिज गरिनेछ।
 
‘राम्रा र स्तरीय नेपाली फिल्मलाई दक्षिण भारतीय ओटिटी प्लेटफर्ममा रिलिज गर्ने हाम्रो तयारी छ। जतिसक्दो चाँडो फिल्म रिलिज हुनेछ। जसले गर्दा नेपाली फिल्म पर्यटनदेखि बजारीकरणसम्म फाइदा हुने हामीलाई विश्वास छ,’ उनले भनिन्। यसका लागि आफूहरूसँग १५ देखि १८ वटा ओटिटी प्लेटफर्म रहेको जानकारी उनले दिइन्।
 
एफटीपीसी अध्यक्ष चैतन्य जंगको नेतृत्वमा दक्षिण भारतीय फिल्म टोली केही दिनदेखि काठमाडौंमा छ। टोलीले नेपाली फिल्मको बजार र सम्भावनाबारे अध्ययन गरिरहेको छ। समारोहाम अध्यक्ष जंगले नेपाल र भारतबीच छायांकन थलो आदानप्रदान पनि महत्वपूर्ण पक्ष बन्न सक्ने बताए।

प्रतिक्रिया गर्नुहोस्