राष्ट्रपति प्रधानमन्त्रीजस्तो सडक जाम नगरी हिँड्न मिल्छ कि मिल्दैन?

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबार नेपालका तेस्रो राष्ट्रपति निर्वाचित भएका छन्। यही बेला मुलुकको यो सर्वोच्च पदको गरिमालाई लिएर अनेक टिकाटिप्पणी चलिरहेको छ। संसद विघटनदेखि विधेयक प्रमाणीकरण र अझ त्योभन्दा बढी सर्वसाधारण जनतालाई घन्टौं सडकमा कुराउँदै आफ्नो सवारी चलाउने विषयमा राष्ट्रपति संस्थाको आलोचना हुँदै आएको छ। गणतन्त्रको राष्ट्रपति पनि विगतको राजाभन्दा कम भएन भनेर धेरैले भन्ने गरेका छन्।

यसै सन्दर्भमा राष्ट्रपति संस्थाको गरिमा, यो पदको महत्व र अधिकार, विगतको अनुभव, सवारीमा देखिएको बेथिति लगायत विविध विषयमा हामीले राजेन्द्र दाहालसँग कुराकानी गरेका छौं। नेपालका प्रथम राष्ट्रपति रामवरण यादवका प्रेस सल्लाहकार तथा शिक्षक मासिकका सम्पादक दाहालसँग सेतोपाटीका मनोज सत्यालले गरेको कुराकानी:

यसपटक राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धन नै एक ठाउँबाट अर्को ठाउँ सर्‍यो। संविधानले सेरेमोनियल राष्ट्रपतिको परिकल्पना गरेको छ, यस्तोमा राष्ट्रपति पद किन यति महत्वपूर्ण बन्न पुग्यो?

हामीले राष्ट्रपति पदलाई सेरेमोनियल वा एक खालको थपनाजस्तो भनिरहेका छौं। तर सेरेमोनियल भनेको के हो? त्यसको व्याख्या भएको छैन। त्यसको परिभाषा कहीँ पनि लेखिएको छैन। संविधानले राष्‍ट्रपतिको जुन काम, कर्तव्य र अधिकार तोकिदिएको छ, त्यस आधारमा राष्ट्रपति सक्रिय र प्रभावकारी संस्था हुन्छ। त्यो सेरेमोनियल मात्र हुँदैन। अर्थात्, हामीले भनेजस्तो राष्ट्रपति निष्क्रिय बस्ने, आफू केही नगर्ने, अर्काले चलायो भने मात्र चल्ने भन्ने हुँदैन।

बोलीचालीको भाषामा सेरेमोनियल राष्ट्रपति भनिए पनि यो पद थपना मात्र हुँदैन भन्ने संविधानले प्रस्ट पारिदिएको छ। त्यसैले नेपालको राष्ट्रपति यथार्थमा संवैधानिक राष्ट्रपति हो। संवैधानिक दायित्वसहितको राष्ट्रपति हो। उसका संवैधानिक कर्तव्यहरू छन्। ती कर्तव्य निर्वाह गर्न ऊसँग संवैधानिक अधिकार छन्। उसको कार्यक्षेत्र पनि संविधानले स्पष्ट गरिदिएको छ। त्यसैले यो पद महत्वपूर्ण हुने नै भयो।

त्यससँगै जोडिएर आउने अर्को कुरा के भने राष्ट्रपति भनेको राष्ट्राध्यक्ष पनि हो। राष्ट्राध्यक्षको सबै भूमिका संविधानमा लेखिनु पर्दैन। कयौं कुरा परम्पराबाट चलेर आइराखेको हुन्छ। राष्ट्राध्यक्ष भनेपछि उसले यसो-यसो गर्ने भन्ने कुरा सयौं वर्षदेखिको परम्पराबाट चल्दै आएको छ, जहिलेदेखि संसारमा 'नेसन' र 'स्टेट' भन्ने अवधारणा आयो।

संसारका हरेक देशमा सरकार-प्रमुख र राष्ट्र-प्रमुखको व्यवस्था छ। हामीकहाँ पनि भयो। तिनका चालचलन, व्यवहारहरू हुन्छन्, जुन धेरै देशमा उस्तै उस्तै छ। अलिअलि तलमाथि होला, तर सबैमा छ। त्यसैले राष्ट्राध्यक्षको नाताले पनि राष्ट्रपतिको ‌ओ‌होदा अझै बढी गरिमामय हुन पुग्छ। हामीले बुझ्दा संवैधानिक राष्ट्रपति भनेर बुझ्नु र राष्ट्राध्यक्षका रूपमा स्वीकार गर्नु राम्रो हुन्छ। सेरेमोनियल भनेर खासै महत्वको पद होइन, राजनीतिक दलहरूले किन मरिहत्ते गरेका भन्ने बुझाइबाट सबभन्दा पहिला हामी प्रेसवालाहरू मुक्त हुनुपर्छ।

 

प्रतिक्रिया गर्नुहोस्