उद्योग संगठन मोरङमा अध्यक्षसहित सबै निर्विरोध

उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन्।

विराटनगरमा शनिबार सम्पन्न ५० औं साधारण सभाले सुरानालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो। 

२६ औं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, वित्तिय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, उर्जा र जलश्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्षमा विपिन कावरा पनि निर्विरोध चुनिएका छन्। त्यसैगरी कोषाध्यक्षमा सुवोध कोइरालासहित आठजना सदस्य पनि निर्विरोध छानिएका छन्। 

सदस्यहरूमा पारस लुनिया, इन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन्। कार्यसमितिमा थप तीन जना सदस्य अध्यक्षले मनोनित गर्ने संगठनको विधान छ।

संगठनमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने परम्परा भएपनि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका सुपारी कारोबार विवादमा मुछिएपछि उनले उम्मेदवारी नलिदा कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चुनिएका हुन्।

०२४ सालमा स्थापना भएको यो संस्थाको संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ हुन्। यो संगठनमा सुनसरी, मोरङ औधोगिक क्षेत्रका २ सय ३५ उद्योग तथा प्रतिष्ठान आवद्ध छन्।

प्रतिक्रिया गर्नुहोस्