'प्रधानमन्त्री थ्री नेसन्स कप'को विजेताले ५ हजार डलर पुरस्कार पाउने

चैत ८ गतेदेखि दशरथ रंगशालामा हुने प्रधानमन्त्री थ्री नेसन्स कप विजेतालाई ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल, भुटान र लाओसबीच हुने प्रतियोगिताको विजेतालाई ५ हजार डलर दिने घोषणा गरेको हो। 

उपविजेतालाई ३ हजार अमेरिकी डलर, प्लेयर अफ दि म्याचलाई २५० डलर र उत्कृष्ट खेलाडीलाई ५ सय डलर गरी कुल पुरस्कार राशी ९ हजार ५ सय अमेरिकी डलर रहेको छ। 

सबै पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराउने भएको छ।

प्रतियोगिताको कुल बजेट १ करोड ७७ लाख रुपैयाँ छ।

एन्फाले फिफा विन्डोमा खेल गराउने भएका कारण एन्फाले फिफाबाट २५ हजार डलर पाउनेछ। प्रतियोगितामा सहभागी हुन भुटान र लाओसको टिम नेपाल आइसकेका छन्। 

नेपालले भुटान र लाओससँग सिंगल राउण्ड रोबिन ढाँचामा खेल्नेछ र शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनलबाहेक सबै खेल फिफा विन्डोमा खेलिने छन्।

प्रतियोगिताको टिकट मूल्य सामान्य प्यारापिटको लागि ५०० रुपैयाँ र भिआइपी प्यारापिटको लागि एक हजार रुपैयाँ तोकिएको छ।

एन्फाले प्रतियोगिताको मार्केटिङ, प्रसारण र डिजिटल अधिकार एमडिएसी स्पोर्ट्स प्रालिले २० लाख रुपैयाँमा पाएको छ। टिकेटिङ भने एन्फाले आफैं गर्नेछ।

नेपालले उद्घाटन खेल चैत ८ मा लाओससँग खेल्नेछ। चैत २८ मा नेपाल र भुटानबीचको खेल अघि लाओसले चैत ११ मा भुटानसँग खेल्नेछ। समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्।

फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ।

प्रतिक्रिया गर्नुहोस्