७६ वर्ष पुरानो सामुदायिक स्कुल जहाँबाट उत्तीर्ण भए मन्त्री, न्यायाधीशदेखि कलाकारसम्म

राम्रा सामुदायिक स्कुल

संघीय राजधानी काठमाडौंको प्रदर्शनी मार्गस्थित पद्मोदय माध्यमिक विद्यालयले स्थापनाका ७६ वर्ष पूरा गरेको छ। राणाकालमा २००३ सालमा स्थापना भएको पद्मोदयले फागुन २९ गते (भोलि) ७७ औं वार्षिकोत्सव मनाउँदैछ।

स्थापनाको झन्डै आठ दशक पुग्नै लाग्दा स्कुलबाट साढे ६ हजार विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (साविक एसएलसी, हालको एसइई) उत्तीर्ण गरेका छन्। देशको राजनीति तथा अन्य अंगमा उच्च पदमा पुगेका धेरै व्यक्ति पद्मोदयका विद्यार्थी थिए। 

पाँच पटक प्रधानमन्त्री सूर्यबहादुर थापाले पद्मोदयबाटै एसएलसी उत्तीर्ण गरेका थिए। उनका छोरा पूर्वमन्त्री सुनिल थापा, पूर्वमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, कमल थापा लगायत धेरै नेताले यही स्कुलमा पढेका हुन्।

पूर्व प्रधानन्यायाधीशहरू केदारनाथ उपाध्याय र अनुपराज शर्मा, पूर्वसभामुख दमननाथ ढुंगाना, कलाकारहरू हरिवंश आचार्य, मनोज गजुरेल लगायत पनि पद्मोदयकै उत्पादन हुन्। यस्ता प्रख्यात विद्यार्थीहरूको यो सूची निकै लामो हुन्छ।

'पद्मोदयका पूर्वविद्यार्थीहरूले राष्ट्रका लागि निकै ठूलो योगदान गर्नुभएको छ। विद्यालय गौरवको कुरा हो,' यहाँका प्रधानाध्यापक नारायणप्रसाद गौतम भन्छन्, 'पूर्वविद्यार्थीहरूबाट प्रभावित भएर पनि पद्मोदयप्रति अभिभावक र विद्यार्थीको रूचि बढ्दो छ।'

यस विद्यालयमा हाल ४८ जिल्लाका विद्यार्थी छन्।

 

 

राम्रा सामुदायिक स्कुलको शृंखला लेख्ने क्रममा गत साताको एक दिन हामी पद्मोदय पुगेका थियौं। बिहानको साढे १० बजे विद्यालय प्रांगणमा पुग्दा विद्यार्थीहरू 'एसेम्ब्ली' मा थिए। झन्डै आधा घन्टाको एसेम्ब्लीमा राष्ट्रिय गान, सरस्वती बन्दना र 'पिटी' भनिने केही शारीरिक अभ्यास भयो। पालोअनुसार हरेक एसेम्ब्लीमा विद्यार्थीले 'आजको विचार' अन्तर्गत मन्तव्य दिनुपर्दो रहेछ, त्यो पनि भयो। 

प्रधानाध्यापक गौतमका अनुसार 'आजको विचार' सुरू भएको तीन वर्ष भयो। यो अभ्यासले विद्यार्थीलाई समूहको अगाडि उभिएर बोल्न आत्मविश्वास बढाएको छ। पद्मोदयले शिक्षासँगै विद्यार्थीहरूको संस्कार विकासमा पनि जोड दिएको छ।

'अभिभावकको व्यस्त दिनचर्याका कारण बालबालिकाले घरमा उचित संस्कार सिक्न पाएका छैनन्। हामीले विद्यालयमा शिक्षासँगै संस्कार पनि सिकाउने प्रयास गरेका छौं,' उनी भन्छन्।

विद्यालयको सूक्ति छ– पद्मोदयको इच्छाः संस्कारयुक्त गुणस्तरीय शिक्षा।

पछिल्ला दुई वर्ष शैक्षिक वर्षमा पद्मोदयमा विद्यार्थी संख्या ह्वात्तै बढ्यो। अहिले पनि नयाँ शैक्षिक वर्षका लागि अभिभावकको फोन आउन थालेको छ। तर हालको विद्यार्थी संख्या बढाएर पढाउन सक्ने भौतिक पूर्वाधार छैन। ६ देखि माथिका कक्षामा विद्यार्थीको चाप धेरै छ। साना कक्षामा केही थप्न सक्ने क्षमता भए पनि तिनमा विद्यार्थी कम आउँछन्।

प्रधानाध्यापक गौतमका अनुसार नयाँ भर्नाका लागि अभिभावकको फोन निरन्तर आइरहेको छ। गत वर्ष प्रवेश परीक्षा लिएर पनि तीन सय जना विद्यार्थी अरू स्कुलमा पठाउनु पर्‍यो।

'अर्को वर्ष त जसरी भर्ना लिइदिनु पर्‍यो भन्ने अभिभावक धेरै छन् तर हाम्रो पूर्वाधारले थेग्दैन,' उनले भने।

विद्यालयमा हाल १३ वटा कक्षाकोठा छन्। सामान्यता एउटा कोठामा ४० जना अटाउँछन् तर ५५ जनासम्म राखिएका छन्। कोठा अभाव भएकाले क्षमताभन्दा बढी विद्यार्थी राख्नुपर्ने बाध्यता भएको हो। कक्षा ८ देखि १० सम्म विद्यार्थी दुई–दुई समूहमा राखिएका छन्। यस वर्ष ७९ जना विद्यार्थी विद्यालय शिक्षा परीक्षा (एसइई) को तयारी गर्दै छन्।

 

पद्मोदय स्कुलका प्रधानाध्यापक नारायण प्रसाद गौतम। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी

 

पद्मोदयमा २०६० सालताका पन्ध्र सयभन्दा धेरै विद्यार्थी पढ्थे। त्यो नै हालसम्मकै उच्च संख्या हो। त्यो समय प्रवेशिका परीक्षा (स्कुल लिभिङ सर्टिफिकेट– एसएलसी) को नतिजा हेरिन्थ्यो। शत प्रतिशत विद्यार्थी उत्तीर्ण हुने विद्यालयमा अभिभावक र विद्यार्थीको रोजाइमा पर्थे। पद्मोदय पनि शत प्रतिशत विद्यार्थी उत्तीर्ण हुने विद्यालय थियो। साख उच्च थियो, विद्यार्थीको भिड लाग्थ्यो। 

निजी विद्यालय खुल्ने क्रम पनि बढ्यो। पद्मोदयको साख एकनासको रहेन। विद्यार्थी घट्दै गए। 

'हाम्रोमा मात्र होइन, मुलुकभरका सामुदायिक विद्यालयमा विद्यार्थी ह्वात्तै घटेका थिए,' गौतमले भने, 'सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यममा पढाउन र अरितिक्त क्रियालापमा जोड दिन थालेपछि फेरि बढ्न थालेको हो।'

अभिभावक र विद्यार्थीको आकर्षण बढाउन पद्मोदयले केही अतिरिक्त पहल गर्‍यो। २०६२ सालमा कक्षा ११ को पढाइ सुरू भयो। अर्को वर्ष १२ कक्षा थालिउकयो। कक्षा ११ मा अपेक्षाअनुसार विद्यार्थी आए। हाल ११ र १२ कक्षामा विज्ञान, कानुन, व्यवस्थापन, मानविकी र शिक्षा गरी पाँचवटा संकाय पढाइ हुन्छ। 

२०६८ सालमा कम्प्युटर विषय पनि सुरू भयो। कम्प्युटर र इन्टरनेटको बढ्दो महत्वसँगै कम्प्युटर शिक्षामा विद्यार्थीको आकर्षण बढ्यो।

खेलकुदका लागि विद्यालयसँग मैदान छ। हाजिरीजवाफ, निबन्ध, वादविवाद, वक्तृता गायन, नृत्य, चित्रकला लगायतका अतिरिक्त क्रियाकलापमा पद्मोदयको विशेष जोड छ। यसरी विद्यालय अघि बढ्दै थियो। २०७२ सालको भूकम्पले भवनमा क्षति पुर्‍यायो। अस्थायी टहरमा राखेर पढाउनु पर्‍यो। भूकम्पपछि विद्यार्थी ह्वात्तै घटेर पाँच सय हाराहारी भए। टहरामा विद्यार्थीलाई सहज ढंगले राख्न नसक्दा संख्या घट्ने क्रम जारी रह्यो। त्यति थोरै विद्यार्थीलाई पनि एउटै समयमा पढाउन नसक्दा बिहान–दिउँसो गर्नु पर्‍यो। 

यसरी तीन वर्ष टहरामा गुजारा गरेपछि २०७५ सालमा नयाँ भवन तयार भयो। यहाँ पढाइ हुन थालेपछि विद्यार्थी संख्या बढ्न थाल्यो। चालु शैक्षिक वर्षमा कुल एक हजार ९२ जना विद्यार्थी छन्। थप विद्यार्थी भर्ना हुन चाहन्छन् तर विद्यालयसँग क्षमता छैन। भवन थप्न जमिन छ तर बजेट छैन। सरकारसँग आग्रह गरेको भए पनि पार लागेको छैन।

'१५ सय विद्यार्थी पढाएको इतिहास छ। अर्को एउटा भवन बन्न सके हामी त्यति नै विद्यार्थी पढाउन सक्छौं,' प्रधानाध्यापक गौतम भन्छन्, 'हाम्रो चाहना गुणस्तरीय शिक्षा हो। अहिले संख्या थप्नेमा भन्दा प्रभावकारी शिक्षण सिकाइमा ध्यान दिएका छौं।'

 

 

हाल विद्यालयमा ३३ जना शिक्षक छन्। यीमध्ये २६ जना सरकारी दरबन्दीमा हुन्, बाँकी निजी स्रोतमा। विद्यालयमा शिक्षक र अभिभावकबीच बाक्लै भेट र छलफल हुन्छ। यसबाट विद्यार्थीको पढाइमा सुधार गर्न मद्दत पुगेको छ।

पद्मोदयले केहीपटक 'आमा भेला' पनि आयोजना गर्‍यो। यस्तो भेला निकै प्रभावकारी भएको प्रधानाध्यापक गौतमले बताए। 

'आमा भेलापछि विद्यार्थीको गृहकार्य र सरसफाइ राम्रो भयो। धेरै विद्यार्थीले नियमित गृहकार्य गर्न थाले। नियमित भेटघाटमा बुबाआमा जसलाई फुर्सद हुन्छ उहाँ आउनुहुन्छ,' उनले भने।

सामुदायिक स्कुलमा अभिभावकको चासो कम हुनु रोग जस्तै बनेको प्रधानाध्यापक गौतमको अनुभव छ।

यसलाई विचार गरेर पद्मोदयले प्रवेशद्वारमा लेखिएको छ– अभिभावकहरू कता हिँड्दै हुनुहुन्छ? एकछिन फुर्सद छ भने आउनुहोस्, केटाकेटीको बारेमा छलफल गरौं!

यहाँ त्रैमासिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीले फेरि परीक्षा दिनुपर्ने नियम छ। उत्तीर्ण नहुँदासम्म परीक्षा दिनै पर्छ। यसो गर्दा विद्यार्थीमा पढ्नै पर्छ भन्ने भावना विकास भएको प्रधानाध्यापक गौतमको निष्कर्ष छ।

पद्मोदयले पठनपाठन प्रविधिमैत्री बनाउँदै छ। स्मार्ट बोर्ड र इन्टरनेट प्रयोग बढाउने क्रममा छ। गत वर्ष विद्यालयको शैक्षिक उपलब्धिका आधारमा बागमती प्रदेश सरकारले काठमाडौंका महानगरका चार वटा विद्यालयलाई शैक्षिक उन्नयनमा खर्च गर्न केही बजेट दिएको थियो। यसमा पद्मोदय पनि परेको थियो। 

स्कुलमा पुस्तकालय छ। विद्यार्थीले आफ्नो अनुकूलतामा किताब पढ्न पाउँछन्। विद्यार्थीहरू चित्रकला र संस्कृतिमा अब्बल रहेको कक्षा शिक्षकहरूको भनाइ छ। काठमाडौं महानगरको पाठ्यक्रमअनुसार नेपाल भाषा पढाइ हुन थालेपछि विद्यार्थीहरू फरक संस्कृतिप्रति उत्सुक रहेको शिक्षक टिना डंगोलले बताइन्। उनी विद्यार्थीलाई चित्रकला सिकाउँछिन्।

सामुदायिक स्कुलका शिक्षकहरू आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउँछन् भन्ने आरोप लाग्ने गरेको छ। 

डंगोलले उक्त आरोप अस्वीकार गरिन्।

उनले भनिन्, 'मेरो छोराले पनि यही (पद्मोदय) विद्यालयबाट एसइई दिएर गएको हो। सहायक प्रधानाध्यापकको छोरा पनि यहीँ कक्षा ९ मा पढ्छन्। अरू शिक्षकका छोराछोरी पनि यहीँ छन्।'

विद्यार्थीहरूले पनि विद्यालयको शैक्षिक गतिविधिमा खुसी प्रकट गरे। सुदूरपश्चिमको पहाडी जिल्ला अछामबाट आएक एक विद्यार्थीले आफू दैनिक ४० मिनेट हिँडेर विद्यालय आउने गरेको बताए। नजिकमा अर्को विद्यालय भए पनि पद्मोदय नै राम्रो लागेको उनको भनाइ छ। कक्षा ८ देखि पद्मोदयमा पढेका उनी यसपालि एसइईको तयारी गर्दै छन्।

प्रतिक्रिया गर्नुहोस्