विश्वकप छनोट प्लेअफमा आचारसंहिता उल्लंघन गरेपछि अमेरिकाका अली खानलाई २ खेल प्रतिबन्ध

गत अप्रिल ४ मा अमेरिका र जर्सीबीचको क्रिकट विश्वकप छनोटको प्लेअफ खेलमा आइसिसीको आचारसंहिता उल्लंघन गरेको आरोपमा तीन खेलाडीलाई जरिवाना गरिएको छ।

२३२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको जर्सीले अमेरिकामाथि दबाब दिएको थियो। यद्यपी विश्वकप छनोटमा पुग्न महत्वपूर्ण मानिएको खेलमा जर्सी ४७.४ ओभरमा अलआउट हुँदा २५ रनले खेल हारेको थियो।

जर्सीका खेलाडीहरूसँग झगडामा उत्रिएका अमेरिका तीव्र गतिका बलर अली खानले उत्कृष्ट बलिङ गरेका थिए। उनले ९.४ ओभरमा ७ विकेट लिएका थिए। 

उक्त खेलमा खेल भावना विपरितको व्यवहार देखाएको भन्दै आइसिसीले अमेरिकाका अली खान र जसदीप सिंह तथा जर्सीका इलियट माइल्सलाई आइसिसी आचार संहिताको लेभल-१ उल्लंघन गरेकोमा जरिवाना गरेको हो। 

खानलाई भाषा वा अरु इशाराबाट अरुलाई दुर्व्यवहार गरेकोमा दोषी देखाइएको छ। यससँगै उनले एक डिमेरिट अंक प्राप्त गरेका छन्। जसको मतलब अब  उनले लगत्तै हुने टी-२० वा एकदिवसीयको दुई खेल गुमाउनेछन्।  

संहिताको धारा ७.६ अनुसार २४ महिनाको चक्रमा जम्मा चार डिमेरिट अंकलाई दुई खेलको निलम्बन गर्ने व्यवस्था छ। खानले यसअघिनै तीन डिमेरिट अंक पाइसकेका थिए। उनलाई थप म्याच फीको १५ % जरिवाना पनि लगाइएको छ।

गत वर्ष खानले नेपाली समर्थक सबैभन्दा खराब रहेको प्रतिक्रिया दिएका थिए। अमेरिकामा भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालविरुद्धको खेलमा उनले दर्शकलाई उत्तेजित पार्ने हाउभाउ देखाएका थिए भने ट्वटिरको एक पोस्टमा नेपालका समर्थक सबैभन्दा बढी खराब रहेको प्रतिक्रिया गरेका थिए।

उनी आइपिएलमा छनोट हुने पहिलो अमेरिकी क्रिकेटर हुन्। पाकिस्तानमा जन्मिएका उनी दुई वर्षअघि कोलकता नाइट राइडर्समा आबद्ध भएका थिए।

अमेरिकाका जसदीप सिंहलाई म्याच फिको ३०% जरिवाना गरिएको छ भने जर्सीका इलियट माइल्सलाई आफ्नो म्याच शुल्कको १५% जरिवाना गरिएको छ। 

तीनै खेलाडीले मैदानमा रहेका अम्पायर एन्ड्रयु लुउ र क्लाउस शुमाकर तथा थर्ड अम्पायर डेभिड ओधियाम्बोले लगाएको आरोप स्वीकार गरेकाले औपचारिक सुनुवाइ हुनेछैन।

प्रतिक्रिया गर्नुहोस्