लाज पचेको एन्फा !

फुटबल खेलको क्रेज जति अरू देशमा छ, त्यति नेपालमा पनि छ भन्दा सायद फरक नपर्ला। क्लब फुटबलमा अरू देशजति माया नदेखिए पनि जब देशको सवाल आउँछ, नेपाली फुटबल टोलीलाई समर्थकको कमी कहिले पनि भएन र हुन पनि दिइएन। चाहे मैत्रीपूर्ण खेल होस् या कुनै प्रतियोगिता, दशरथ रंगशाला सधैं गुन्जयमान हुन्थ्यो, ‘नेपाल’ ‘नेपाल’ भन्ने आवाजले। 

नेपाली समर्थकको मन धेरै पटक टुट्ने र फुट्ने भइसकेको छ। चाहे त्यो अफगानिस्तानविरूद्ध दुई पटक साफको सेमिफाइनलमा हरेर होस् या भारतसँग फाइनलमा हरेर होस्। तर पनि नेपाली फुटबल टिमले त्यो टुटेको मनमा केही मलम लगाइदिएको थियो, बंगवन्धु कप, एएफ्सी सोलिडारिटी कप र साग फुटबलमा स्वर्ण पदक हासिल गरेर। 

त्यसयता ओरालो लागेको नेपाली फुटबललाई न त एन्फाले बचाउँने प्रयास गर्‍यो, न त अरू कुनै सम्बन्धित निकायले नै। न त सम्बन्धित निकायलाई कुनै चिन्ता नै परेको थियो। मर्का त केबल खेलाडी र त्यो भन्दा धेरै पिडा समर्थकलाई परेको छ।

एन्फाको अहिलेको गतिविधि हेर्ने हो भने, यस्तो संघ त दुष्मनलाई नि नपरोस् भन्न मन लाग्छ। एन्फा कै भित्रि राजनीति र विवादका कारण नेपाली फुटबलले एक अब्ब्ल प्रशिक्षक (अब्दुल्लह अल्मुताइरी) गुमाउन परेको थियो। एन्फामा नयाँ नेतृत्व आएसँगै केही पलाएको आश फेरी खरानी भएको छ। जुन जोगी आए पनि कान चिरेको भने झैँ नेपाली फुटबलको ओरालो लाग्ने क्रम झन् बढेको छ।    

फुटबल विकासको पिल्लर मानिने घरेलु लिग गर्न २/३ वर्ष लगाउँछ अनि गरेको लिग पनि अव्यवस्थित रूपमा झारो टारे जसरी गरिरहेको छ। १४ टिम मध्ये ५० प्रतिशतभन्दा धेरै क्लब उपत्यका कै खेलाएर कसरी हुन्छ फुटबल को विकास? ३ वटा रंगशालामा हप्ताको सातै दिन लिग गराएर एन्फाले स्पष्ट पारेको छ कि, यो ए डिभिजन लिग झारा टार्ने लिग मात्र हो।  

झारा टारे जसरी ए डिभिजन लिग त गरायो, तर अब बी डिभिजन र सी डिभिजन लिग गर्न पैसा छैन भनेर नगर्ने रे! दर्जनौं एन्फाका पढाधिकारीलाई लाखौं तलब खान पैसा हुने तर खेल खेलाउन पैसा नहुने, वाहा ! अध्यक्ष ज्यू! 
 
त्यसैगरी, फुटबल विकास कै अर्को मुलधार उमेर समूहको फुटबल विकास हो र त्यहिँ उमेर समूहको प्रतियोगितामा समावेस हुन आर्थिक अवाभले रोक्यो रे!

आर्थिक अभावको कारण देखाउँदै एएफसी यू-२३ को छनोट प्रतियोगिता नखेल्ने एन्फाको निर्णय गैरजिम्मेवार मात्र नइभ नेपाली फुटबलीका लागि कालो इतिहास बनेको छ।

एन्फाको प्रवक्ता जसले महिनाको लाखौं तलब खाइरहेका छन्, उनी भन्छन्- यो प्रातियोगितामा भाग लियो भने यति खर्च हुन्छ अनि त्यसबाट छनोट भयो भने झन् धेरै पैसा खर्च हुन्छ रे। अलिकति लाज लागेन यति भन्नला? आफू चैं मज्जाले तलब पचाएर बस्ने अनि जे कामको लागि त्यो पोस्टमा बसेको छ, त्यो कामको लागि चैं पैसा छैन भन्नलाई?

नेपालले एएफसी यू-२३ को छनोट खेल्यो उनीहरूलाई समस्या रे! अनि अर्को चरण प्रवेश गर्‍यो भने झन् धेरै समस्या हुने रे! 
 
कतै विदेशमा कुनै प्रतियोगिता खेल्न पर्‍यो भने खेलाडी भन्दा धेरै पदाधिकारीहरू कै जम्बो टोली जान पर्छ, त्यसैले नै पैसा नपुग्दैन भनेको होला!

पुरूष फुटबलको त यो हालत छ, झन् महिला फुटबलको त के कुरा गर्नु र ! साबित्रा भण्डारी जस्तो खेलाडी दक्षिण एसियामा मात्र हैन, सायद एसिया मै पनि धेरै कम होलान्। एन्फाले चाह्यो भने र एन्फाले व्यवस्था मिलाइदिने हो भनी साबित्रा भण्डारी युरोपमा खेल्न पर्ने खेलाडी हो। तर अपसोच एन्फाको यस्तो कुरामा ध्यान कहाँ जान्छ र, उनीहरू त बस आफूलाई फाइदा हुने ठाउँ र काम मात्र त गर्छन्। 

अब अझै पनि यस्तै भइराख्ने हो भने नेपाली समर्थक चुप बस्दैनन्। समर्थकहरूलाई एन्फाले जवाफ दिनैपर्छ। नेपाली फुटबललाई अन्धकारमा राख्न पाइदैन।

प्रतिक्रिया गर्नुहोस्