ओहो! कस्ता राम्रा आँखा। कति राम्री मान्छे! उनलाई हेर्दा लाग्थ्यो स्वर्गमा हुने अप्सरा धर्तीमा पो छ त!
मलाई लाग्यो म सपनामा छु। तर, म साँच्चिकै उनलाई नै देखिरहेको थिएँ। मैलै चस्मा निकालेर हेरेँ, कतै चस्माको दोष हो कि? मैलै स्कुल पढ्दा कक्षा ९ मा साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको ‘दोषी चस्मा’ कथा पढेको थिएँ। त्यही कारण मेरो चस्मातिर ध्यान गयो। तर त्यो वास्तविकता थियो।
जब उनलाई देखेँ, मेरी पुरानो प्रेमिकालाई सम्झिएँ। म यात्रामा थिएँ, बसबाट देखेको त्यो दृश्यले मलाई कता-कता उनको यादले पोल्न थाल्यो। मैलै मनमनै सोचेँ, मेरा लागि उनको प्रेम कहिल्यै पूर्ण हुन सकेन। किन भन्ने प्रश्न पछाडिको उत्तर मसँग अझै छैन।
सायद मैले नै कहिल्यै प्रेम शब्दलाई बुझिनँ या बुझ्न खोजिनँ। एक मनले फेरि भन्छ- जानेलाई कत्ति सम्झेको?
मनमा अनेक प्रश्न उब्जिन थाल्छन्। त्यतिकैमा बस गुडिहाल्छ। बस हिँडेपछि आँखाको नानी अगाडि देखिएकी ती नानी पनि हराइन्। अनि म सम्झिन थालेँ सन्ध्यालाई। उनको नाम सन्ध्या होइन तर मैले सन्ध्या भनेर बोलाउथेँ।
बस आफ्नै लयमा हुइँकिदै गयो। मलाई मनमा उनको याद आइरहेको थियो। सोचिरहेको थिएँ, तिमी बिनाकारण मबाट टाढा हुन पुग्यौ। मनमा रिस पनि उठिरहेको थियो। उनीसँग भेट नभएको एक दशक भएको थियो।
बस अगाडि जाँदै गर्दा एकजना केटी मान्छेले हात हल्लाइन्। बस ड्राइभरले गाडी रोके र उनी गाडीमा चढिन्। त्यतिबेल धर्तीले सूर्यलाई छुन कोसिस गर्दै थियो। घाम पहेँलो हुँदै थियो। उनको र मेरो आँखा पनि एकआपसमा जुध्यो।
‘तपाईं!’ भनेर उनले आश्चर्य मानिन्।
मैलै केही नबोली टाउको हल्लाएँ। किनकी मेरो लागि उनी अपरिचित थिइन्। मेरो छेउको सिट खाली थियो, उनी पनि त्यही सिटमा बसिन्। हामी केही नबोली एक घण्टा जति यात्रामा सँगै रह्यौँ।
रात परिसकेको थियो। खाना खानेबेला भयो। सबैजना खाना खानको लागि बसबाट झरे। मैले उनलाई खाना खान जाउँ भनेर अनुरोध गरेँ। सँगै बसेको मानिसलाई खानाको लागि सोध्नु हाम्रो संस्कार नै हो। उनले हुन्छ भनिन् र हामीले सँगै खाना खायौँ।
त्यति बेलासम्म पनि मैले उनलाई चिनेको थिइनँ तर उनले मलाई चिनिसकेकी रहेछ। उनी सन्ध्या रहिछिन्। उनले मास्क लगाएको कारण मैले चिनेको थिइनँ। उनले मलाई चिनेको भए पनि केही बेर नबताउने भनेर चुप बसेको बताइन्।
हामीले खाना खाइसकेपछि पुनः बस आफ्नै तालमा हुइँकियो। हामी पनि चिनजान भएपछि त गफिँदै आफ्नो यात्रामा अगाडि बढ्दै थियौँ।
मैले सोधेँ- ‘कहाँसम्म जाने हो?’
उनले भनिन् ‘काठमाडौं।’
म पनि काठमाडौं नै जाँदै थिएँ। १० वर्षअगाडि चिनेको अनि म एकोहोरो प्रेममा परेको कुरा सुनाउन पाइने भयो भनेर खुसी भएँ।
त्यतिबेला उनले मलाई इन्कार गरेकी थिइन्। म सामान्य परिवारमा हुर्केको भएर मेरो आर्थिक अवस्था पनि अलि सामान्य नै हुनेभयो। सायद त्यही अवस्थालाई सम्झेर उनले मलाई त्योबेला इन्कार गरेको हुनुपर्छ। त्यसपछि म काठमाडौं आएर कमाउने भइसकेको थिएँ।
मैले भनेँ, ‘सन्ध्या तिमी के गर्छौ काठमाडौंमा?’
उनले जवाफ दिइन्- ‘म पहिलो चोटि जाँदैछु। मैले पोखराबाट मास्टर्स सकाएँ, त्यही भएर अब काठमाडौं जान लागेको तर कोही चिनेको छैन। तिमीसँग भेट भयो यात्रा रमाइलो हुनेभयो।’
मैले उनको पहिलाको व्यवहार सम्झिएँ। मैले प्रेम प्रस्ताव गर्दा उनले इन्कार गरेकी थिइन्। उनी मबाट टाढा भागेकी थिइन्। म फेरि उनीलाई प्रेम प्रस्ताव राखेर आफूलाई कमजोर बनाउने पक्षमा थिइनँ। तर उनले नै त्यस्तो संकेत दिन थालिन्। उनको कुरा गराइमा प्रेम थियो।
हामी दुवै जना काठमाडौं पुग्यौँ। मलाई लिन कलंकीमा अफिसबाट गाडी आयो। उनलाई मसँगै जाने हो भनेर सोधेँ, उनले हुन्छ भन्दै मसँगै आइन्।
म मध्य बानेश्वरमा डेरा गरी बसेको थिएँ। मसँग बस्नको लागि ठाउँ प्रशस्त थियो। हामी कोठामा पुग्यौँ। उनी त मेरो लागि एक दशकअघि प्रेमिका भए पनि आज भने पाहुना थिइन्।
कोठमा पुगेर मैलै खाना पकाएँ, उनलाई खाना खान बोलाएँ अनि साधेँ- ‘अब कहाँ जान्छौँ?’
उनले जवाफ दिइन्, ‘यतै बस्न मिल्दैन र?’
मैले भनेँ- ‘अहँ! मिल्दैन। १० वर्षअगाडि मैलै पनि अनुरोध गरेको थिएँ। मिलेको थिएन, अब मिल्दैन।’
उनी स्तब्ध भइन्। खाना खाइसकेपछि उनलाई कोठा देखाएर सुत्न पठाएँ। म पनि सुतेँ। बिहान ‘सन्ध्या, सन्ध्या’ भनेर बोलाउँदा उनी कोठामा थिइनन्।
मैलै एक दशकपछि भेटाएको प्रेम फेरि गुमाएँ। मिस यू सन्ध्या। पढ्दैछौ भने एक पटक फेरि भेट्न आउनू ल!
प्रतिक्रिया गर्नुहोस्