कप्तान रोहित भन्छन्- सानैदेखि भारत-पाकिस्तान खेलेको हेर्दै आयौं, अब हामी उनीहरूसँग खेल्नेछौं

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताएका छन्।

मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भयो। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा अब नेपालले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ।

‘प्रतियोगिता जितेर एसिया कपमा छनोट हुँदा एकदमै खुसी लागेको छ। हामीले जुन हिसाबले खेलेका थियौं त्यहीअनुसारको नतिजा आयो,’ रोहितले युएईविरूद्धको खेलपछि भने, ‘एसिया कप हाम्रा लागि ठूलो छ। सानैदेखि भारत-पाकिस्तानको खेल हेर्दै आयौं। आज त्यही प्लेटफर्ममा पुगेर उनीहरूसँग खेल्दैछौं।’

उनले एसिया कप खेल्दा नेपाली टिमको एक्सपोजर बढ्ने समेत बताए।

‘हाम्रा लागि एसिया कपको एकदमै महत्व छ। अब हामीलाई सबैले चिन्छन्। त्यसैल आउने वर्षमा नेपाली क्रिकेटमा झनै राम्रो हुन्छ,’ रोहितले भने।

 

भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण एसिया कपका बारेमा प्रश्न उठिरहँदा रोहितले जहाँ भए पनि एसिया कप हुनुपर्ने बताए।

उनले भने, ‘हामीले एसिया कपका लागि यही धेरै मेहनत गरेका छौं। अब भारत, पाकिस्तान वा युएई जहाँ भए पनि एसिया कपमा खेलाउनु पर्छ।’

प्रतिक्रिया गर्नुहोस्