प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकै अस्पतालमा उपचार गराउन चाहेको बताएका छन्।
तर स्वास्थ्यबारे डाक्टरहरूको निर्णय मान्नुपर्ने भएकोले राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगिएको प्रधानमन्त्रीको भनाइ छ।
‘राष्ट्रपति अलिकति अस्वस्थ्य हुनुभएको पक्कै हो, तर गम्भीर होइन,’ तनहुँको डुम्रेमा बुधबार भएको चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘धेरै चिन्ता गर्नुपर्ने स्थिति छैन। सुधार हुँदैछ।’
राष्ट्रपतिले आफ्नो उपचार स्वदेशमै गर्न चाहेको पनि प्रधानमन्त्रीको भनाइ छ।
‘उहाँले त यहीँ उपचार गर्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो। हामीले पनि छलफल गरियो। राजनीतिबारे निर्णय त हामीले गर्ने हो तर उपचारबारे त डाक्टरहरूले जे भन्छन् त्यही मान्ने हो भनेर मैले उहाँलाई भनेको थिएँ,’ उनले भने, ‘डाक्टरहरूले भनेपछि मात्र उहाँ उपचारका लागि भारत जान मान्नुभएको थियो।’
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार श्री एयरलाइन्सको विमानबाट राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्लीस्थित अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्सेसमा लगिएको छ।
त्रिवि शिक्षण अस्पताल र एम्स अस्पतालका चिकित्सकहरूबीच कुराकानी हुँदा राष्ट्रपतिलाई थप उपचारका लागि भारत लैजान उपयुक्त हुने राय आएकोसमेत सल्लाहकार पोखरेलले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।
राष्ट्रपतिको भारतस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया गर्नुहोस्