उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी ढुंगा प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गरिसकिएको बताएका छन्।
प्रतिनिधि सभा बैठकमा बुधबार बोल्दै गृहमन्त्री श्रेष्ठले झापामा ओलीलाई लक्षित गर्दै ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए।
एमाले प्रमुख सचेतक पदम गिरीले झापामा आज अध्यक्ष ओलीमाथि सत्ता गठबन्धनकै कार्यकर्ताको घुसपैठमा दुर्व्यवहार भएको संसदलाई जानकारी गराएका थिए। ओलीमाथि अभद्र व्यवहार र ढुंगामुढा भएको थियो।
कोशी प्रदेश नामाकरणको विरोधमा ओलीलाई लक्षित गरेर ढुंगामुढा भएको थियो। ‘कार्यकर्तासँग भेटघाट र सम्बोधन गर्ने कार्यक्रममा जानेक्रममा कोशी नामाकरण विरोध राख्ने समूहको तर्फबाट कालो झन्डा प्रदर्शन गर्ने र केही अभद्र व्यवहार र ढुंगामुढाको दुखद् घटना भएको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘नेपाल सरकारको तर्फबाट दु:ख व्यक्त गर्दै निन्दा गर्न चाहन्छु।’यो घटनामा २ जना प्रहरी पनि घाइते भएको गृहमन्त्री श्रेष्ठले बताए।घटनामा संलग्न रहेका मानिस पक्राउ परेसँगै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र ओली इलामतर्फ गएको उनको भनाइ थियो।
प्रतिक्रिया गर्नुहोस्