आज शुक्रबार हलमा चार नेपाली फिल्महरू प्रदर्शनमा आएका छन्। ‘प्रसाद २’, ‘नाईं नभन्नू ल ६’, ‘कैदीको पत्र’ र ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ एकसाथ प्रदर्शनमा आएका हुन्।
सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ मा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, कमलमणी नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ।
यो दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेल हो। फिल्मको कथा सुशील पौडेलले तयार पारेका हुन्।
विकास आचार्यको निर्देशन रहेको फिल्म ‘नाईं नभन्नू ल ६’ मा आर्शिवाद क्षेत्री, आँचल शर्मा, सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, अर्थव उप्रेतीलगायत कलाकारको अभिनय छ।
अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व यसै फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन्। फिल्मको कथा निर्देशक आचार्यसँगै सामिप्य तिमल्सेना, अरूणदेव जोशीले तयार पारेका हुन्।
प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पामा आधारित डकुमेन्ट्री फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ हलमा प्रदर्शन हुने भएको छ।
पासाङ ल्हामु शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय लगाएर फिल्म तयार पारेका हुन्।
७२ मिनेट लामो फिचर फिल्मको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा रहेका छन्।
फिल्मले पासाङ ल्हामु शेर्पाको दुखद र प्रेरणादायी यात्राको वर्णन गर्दछ। नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बड्न गरेको संघर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोग लगायतका विषय जोडेर फिल्म तयार पारिएको छ।
सनम कुमार बैराग निर्देशित फिल्म ‘कैदीको पत्र’ पनि प्रदर्शनमा आएको छ। यो फिल्मको सम्पूर्ण छायांकन स्कटल्याण्डमा गरिएको हो। फिल्ममा कुनाल र म्याडिशनसँगै सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठलगायत कलाकारको अभिनय छ। दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन्।
फिल्म ‘कैदीको पत्र’ ले मल्टिप्लेक्स हलमा एक शो दिइएको छैन। यो फिल्म सिंगल थिएटरमा प्रदर्शन भएको हो।
प्रतिक्रिया गर्नुहोस्