फ्रेञ्च क्लब पिएसजीले आफ्ना फरवार्ड लिओनल मेसीलाई दुई साताका लागि निलम्बन गरेको छ।
अर्जेन्टिनाका कप्तान मेसीलाई क्लबको अनुमतिबिना साउदी अरबको भ्रमण गरेको भन्दै दुई साताका लागि निलम्बन गरिएको हो।
निलम्बन अवधिमा मेसीले पिएसजीसँग प्रशिक्षण समेत गर्नेछैनन्।
३५ वर्षीय मेसीले व्यावसायिक कामका लागि यात्रा गर्न अनुमति मागेको तर क्लबले अस्वीकार गरिएको बुझिएको छ।
साउदी भ्रमणका दौरान मेसीले साउदी अरबका लागि पर्यटन राजदूतको भूमिका गरेका थिए।
विश्वकप विजेता मेसीको पिएसजीसँगको दुई वर्षको सम्झौता यसै सिजन सकिँदैछ।
यसअघि स्पेनिस क्लब बार्सिलोनाका उपाध्यक्ष राफेल युस्टेले गत मार्चमा क्लबमा फर्कने विषयमा आफ्ना पूर्व फरवार्ड मेसी सम्पर्कमा रहेको दाबी गरेका थिए ।
मेसीले पिएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन्। उनले गत सिजन लिग वानको उपाधि जितेका थिए।
निलम्बनसँगै मेसीले अब लिग वानका दुई खेल गुमाउनेछन्।
प्रतिक्रिया गर्नुहोस्