रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा यसपालि पनि चुनाव जित्छन् भन्नेमा देशभरकै मानिसमा सायदै कुनै शंका होला।
चितवनवासीलाई त झन् शंका हुने कुरै भएन। उनीहरूले प्रत्येक दिन नजिकबाटै रविको पक्षमा यसपालि पनि जबरजस्त माहोल बनेको देखेका छन्। कैयन मानिस आफैं त्यसमा संलग्न छन् — प्रचारप्रसारमा, जुलुसमा र भोट माग्न।
तर सबैको मनमा एउटा कौतूहल छ — यसपालि रविको भोट घट्छ वा बढ्छ?
पछिल्ला केही दिन हामी चितवन-२ मा पर्ने विभिन्न गाउँ र वडा घुम्दा रविप्रति मतदाताको विश्वास र भरोसा बदलिएको देखेनौं। बरू उनलाई काम गर्न नदिएको, सबै मिलेर सांसद पद खोसेको गुनासो धेरै पायौं। मौका पाए रविले अझै काम गर्छन्, उनलाई मौका दिनुपर्छ भन्ने मतदाता नै हामीले धेरै भेट्यौं।
भरतपुर महानगरपालिका-२९, दासढुंगाका विश्वास गुरूङले रविमा अझै केही गर्छु भन्ने हुटहुटी भएकाले फेरि पनि भोट दिने बताए।
‘हामीले त पहिले पनि दिएको हो, यसपालि पनि दिन्छौं। उहाँको भोट पहिलेभन्दा बढ्छ जस्तो लागेको छ,’ उनले भने, ‘हिजो मात्रै यता आउनुभएको थियो। उहाँलाई देखेपछि हामी झनै आशावादी भएका छौं। पहिले पनि विदेशमा अलपत्र परेकालाई उद्धार गरेर ल्याउनु हुन्थ्यो, अब विकास गर्नुहुन्छ।’
उनलाई अघिल्लोपटक मत दिएका अधिकांश मतदाता नागरिकता प्रकरणमा रविले गल्ती गरेको भनेर स्वीकार्न तयार छैनन्। बरू यो प्रकरणमा उनलाई फसाइएको र अझै फसाउन सक्ने भएकाले आफूहरूले झन् ठूलो अन्तरमा जिताएर पठाउने कतिपयले बताए। रविलाई सबैतिरबाट एक्ल्याउने प्रयास भइरहेको गुनासो पनि कतिपयले गरे।
भरतपुर-१, रामनगरकी मधु घिमिरेले रविविरूद्ध सिंगो राज्य लागेको आरोप लगाइन्।
‘उनले एक महिनामै काम गर्न खोजिसकेका थिए। भ्रष्टाचारीको फाइल खोल्दै थिए। उनलाई सांसदबाटै हटाइयो,’ उनले भनिन्, ‘हामीलाई त रविलाई केही गर्छन् कि भन्ने डर लाग्छ। अझै पनि चुनावमा हराउन राज्य लागेको छ। तर हामी जिताएर पठाउँछौं।’
इच्छाकामना गाउँपालिका-५ की चन्द्रमाया श्रेष्ठले रविले इमानदार भएर देश र जनताको पक्षमा काम गरेको पुराना पार्टीले देख्न नसकेको बताइन्। विदेशमा गएर केही समय बस्नासाथ रविलाई नेपाली नागरिक होइन भनेर भन्न नपाउने उनको भनाइ छ।
‘हाम्रै नजिकका कति मान्छे विदेश गएका छन्। भोलि हाम्रै छोराछोरी विदेश जान सक्छन्। के उनीहरूलाई नेपाली होइन भन्न पाइन्छ?’ उनले भनिन्, ‘पुराना पार्टीले चुनावका लागि भोजभतेर गरेका छन्। तर रवि सर चाउचाउ र चिउरा खाएर चुनावमा खट्नुभएको छ। तै पनि उहाँलाई देखी सहेका छैनन्।’
रविलाई किन भोट दिने भनेर हामीले प्रश्न सोधेका अधिकांश मतदाताको भनाइ लगभग यस्तै छ। उनीप्रति मतदाताको भरोसा नडगमगाएकाले उनको मत पनि पहिलेजस्तै आउने देखिन्छ।
रविको मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय कार्यकर्ताले पनि हामीसँगको कुराकानीमा रविले यसपालि पनि चुनाव जित्ने स्वीकार गरे। तर दुवै दलका नेता-कार्यकर्ताको दाबी यसपालि रविको मत अघिल्लोपटकको निर्वाचनभन्दा धेरै नै घट्छ भन्ने छ।
के साँच्चै नै घट्छ त? कि झन् बढ्छ?
यिनै प्रश्नको उत्तर खोज्न हामीले यो निर्वाचन क्षेत्रका कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका सबै वडा र भरतपुर नगरपालिकाका १० वडा पुगेर मतदातासँग प्रत्यक्ष कुरा गरेका छौं।
हामीले जम्मा ५१८ जनासँग कुराकानी गर्यौं। तीमध्ये ३१५ जनाले (६०.८ प्रतिशत) रविलाई भोट दिने बताए। कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई ७६ जनाले (१४.७ प्रतिशत) मत दिने बताए भने ६३ जनाले (१२.२ प्रतिशत) एमाले उम्मेदवार रामप्रसाद न्यौपानेलाई मत दिन्छु भने। त्यस्तै, ६४ जनाले (१२.४ प्रतिशत) कसलाई मत दिने निर्णय नगरिसकेको बताए।
यसपालि हामीसँग कुरा गर्दा रविलाई भोट दिन्छु भनेका मतदाताको प्रतिशत र गएको चुनावमा उनले पाएको मतको प्रतिशत लगभग एउटै छ। तल ग्राफमा हेर्नुहोस् पाँच महिनाअघि रवि र कांग्रेस-एमालेका उम्मेदवारले ल्याएको मत प्रतिशत।
यसरी यसपालि रविलाई मत दिन्छु भन्ने मतदाताको प्रतिशत पाँच महिनाअघिभन्दा घटेको छैन। बरू हामीले कुरा गरेकामध्ये १२ प्रतिशतभन्दा बढीले कसलाई मत दिने निर्णय गर्न बाँकी रहेको बताएकाले रविको मत प्रतिशत केही भए पनि बढ्ने सम्भावना छ।
यी माथिका दुइटा ग्राफ हेरिसकेपछि एउटा प्रश्न जन्मिन्छ – के पाँच महिनाअघि रविलाई मत दिएका तर परम्परागत रूपमा कांग्रेस-एमालेलाई मत दिने मतदातामध्ये कसैलाई पनि ती दलहरूले दाबी गरेजस्तो फर्काउन सक्ने छैनन् त?
केही मतदाता फर्किएका छन्। अघिल्लोपटक रविलाई मत दिएका थोरै मतदातालाई कांग्रेस र एमाले दुवै पार्टीका उम्मेदवारले फर्काउने छन्। उदाहरणका लागि, कांग्रेसका जितनारायण श्रेष्ठलाई यसपालि मत दिन्छु भन्ने ७६ जनामध्ये ५४ जनाले मंसिरको चुनावमा पनि कांग्रेसलाई भोट दिएका थिए। त्यो बेला रविलाई मत दिएका १३ जनाले यसपालि श्रेष्ठलाई मत दिन्छु भने।
त्यस्तै, मंसिरमा एमालेलाई मत दिएका एक जना र त्यो बेला कसलाई मत दिएको बताउन नचाहने ८ जनाले पनि श्रेष्ठलाई मत दिने बताए। अर्कोतिर एमालेका न्यौपानेलाई यसपालि मत दिन्छु भन्ने ६३ जनामध्ये ५३ जनाले एमालेलाई अघिल्लो पटक पनि मत दएका थिए। गएको चुनावमा रविलाई म दिएका ७ जना र अघिल्लो पटक कसलाई मत दिएको भन्ने बताउन नचाहने ३ जनाले पनि एमालेलाई मत दिने बताए।
यसरी कांग्रेस र एमाले दुवैले रविलाई अघिल्लोपटक मत दिएका केही मतदाता फर्काउने देखिन्छ। त्यसो भए कसरी रविको मत अघिल्लोपटककै जस्तो रहन्छ वा त्योभन्दा थोरै बढ्न सक्छ त?
अघिल्लोपटक रविलाई मत दिएका जति मतदाता कांग्रेस र एमालेतिर फर्किन्छन्, त्योभन्दा केही धेरै संख्यामा अघिल्लोपटक कांग्रेस-एमालेलाई मत दिएका मतदाता रविले आफूतिर तान्छन्। त्यसबाहेक केही नयाँ मतदाता पनि उनले आफूतिर तान्ने देखिन्छ।
यसपालि रविलाई मत दिन्छु भन्ने ३१५ जना मतदातामध्ये २६१ जनाले (झन्डै ८३ प्रतिशत) मात्रै उनलाई अघिल्लोपटक पनि मत दिएका थिए। यसबाहेक उनलाई पहिलोपटक मत दिन लागेका मतदातामध्ये १६ जनाले अघिल्लोपटक कांग्रेसलाई मत दिएका थिए भने १८ जनाले एमालेलाई।
रविलाई यसपालि मत दिन्छु भन्नेहरूमध्ये ५ जना पहिलोपटक भोट खसाल्न लागेका मतदाता हुन् भने १५ जनाले अघिल्लोपटक कसलाई मत दिएको खुलाउन चाहेनन्।
यसरी हेर्दा कांग्रेस-एमालेले अघिल्लोपटक रविलाई मत दिएकामध्ये २० जना अर्थात् हामीले कुरा गरेका मतदाताको झन्डै ४ प्रतिशत मतदाता आफूकहाँ फर्काउने देखिन्छ। तर रविले यसपालि कांग्रेस-एमालेबाट जम्मा ३४ जना (हामीले कुरा गरेका मतदाताको ६.५ प्रतिशत) आफूतिर तान्ने देखिन्छ। त्यसै कारण पनि रविको मत यसपालि घट्नेभन्दा थोरै बढ्न सक्छ। तर यो घटबढ धैरै ठूलो नहुने हाम्रो विश्लेषण छ।
रविलाई भोट दिन तयार कतिपय कांग्रेस-एमालेका परम्परागत मतदाताले यसपालि उनलाई मत दिए पनि दल भने नबदल्ने बताए। आफूहरू कांग्रेस र एमालेमै क्रियाशील रहने पनि कतिपयको भनाइ छ। रविलाई भोट दिने तर आफ्नो दलको सदस्यता नत्याग्ने उनीहरू बताउँछन्।
कांग्रेस-एमालेका कतिपय संगठित कार्यकर्ताले चाहेर पनि आफ्नो परिवारका सदस्यलाई आफ्नो दलको उम्मेदवारलाई मत दिन मनाउन सकेका छैनन्।
भरतपुर-१२, पूर्णिमा पथका बाबुलाल भट्टराई एमालेका संगठित सदस्य हुन्। शिक्षक पेसामा लाग्दा एमालेको संगठन बनाउन खटिएको दाबी गर्ने भट्टराईको परिवारका चार जनामध्ये यसपालि दुई जनाले एमाले र दुई जनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत दिँदै छन्। उनका छोरा निरज भट्टराईले आफू रास्वपालाई मत दिने बताए।
‘यो घरमा चारमध्ये दुई-दुईवटा भोट बाँडिन्छ। मैले भनेको छोराले मान्दैन। उसको कुरा मैले के भन्नु,’ बाबुलालले भने, ‘एमालेले यसपटक जित्नैपर्छ। रविले जिते भने फेरि चुनाव हुन्छ।’
निर्वाचन क्षेत्रमा स्थलगत भ्रमण गर्दा हामीले कतिपय यस्ता मतदाता पनि भेट्यौं, जो रविलाई भोट हाल्न विदेशबाट आएका छन् वा विदेश फर्कनुपर्नेहरू छुट्टी लम्ब्याएर बसेका छन्। कालिका-१०, शक्तिखोरका विकास कार्की तिनैमध्ये एक हुन्। युएईमा काम गर्ने विकासको छुट्टी चैत तेस्रो साता सकिँदै थियो। उनले आफ्नो छुट्टी लम्ब्याए।
‘रवि दाइलाई भोट दिन बसेको, उहाँलाई भोट दिने मौका गुमाउनु भएन नि!’ उनले भने, ‘हामी विदेशमा हुनेले त उहाँको साथ झन् खोज्छौं। उहाँले केही दिन काम गर्दैमा छाँट देखिएको थियो।’
इच्छाकामना-५, शान्तिबजारका खेमराज थापा भने कुवेतबाट रविलाई भोट हाल्न भनेरै नेपाल आएका हुन्।
‘सबै दल मिलेर चौतर्फी षड्यन्त्र गरेका छन्। त्यसैले एक भोट भए पनि बढ्छ भनेर नेपाल आएको हो,’ उनले भने, ‘मंसिरमा नेपालमा भएका आफन्त सबैलाई रविलाई भोट दिन भनेको थिएँ। अहिलेको राजनीतिक अन्यौल हटाउन रवि चाहिन्छ।’
हामीले पाँच महिनाअघि रविलाई मत दिएका तर यसपालि कांग्रेस-एमालेमा फर्कन्छु भन्ने केही मतदातालाई तपाईंहरू किन फर्किने भनेर पनि सोध्यौं।
भरतपुर-११ का रामचन्द्र भण्डारी त्यस्तै मतदाता हुन्। मंसिरमा रास्वपालाई भोट दिए पनि अब एमालेलाई दिने उनी बताउँछन्।
‘जित्न त रविले जित्लान् तर पहिलेभन्दा भोट घट्छ। मैले पनि पहिले उनलाई नै भोट दिएको हो,’ उनले भने, ‘केही समयमै उनको पारा देखियो। सत्ता छाड्नै नमान्ने उनको प्रवृत्तिले मान्छे पुरानै पार्टीमा फर्किन्छन्। म पनि अब सूर्यलाई भोट दिन्छु।’
कालिका-८ की शर्मिला श्रेष्ठले पनि मंसिरमा रास्वपालाई भोट दिएकी थिइन्। यसपटक उनले कांग्रेसलाई भोट दिने सोच बनाएकी छन्।
‘रविले काम त नराम्रो केही गरेको छैन, तर यसपटक म कांग्रेसलाई दिन्छु। किनकि कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ हाम्रो नजिकको आफन्त हो,’ उनले भनिन्।
अर्का एक जना भने कांग्रेसका कट्टर समर्थक भेटिए। कालिका-४, पदमपुरका रामदास श्रेष्ठले आफू बाँचुञ्जेल कांग्रेसलाई नै भोट दिने बताए। ‘मैले अहिलेसम्म कांग्रेसलाई भोट दिँदै आएको छु। हामी पार्टी फेरिरहने कांग्रेस होइनौं,’ उनले भने, ‘कसैले घाँटीमा खुकुरी राखे पनि हामी कांग्रेसलाई भोट दिने हो।’
अरू पार्टी छाडेर रास्वपालाई मत दिन्छु भन्नेहरूको भने बेग्लै तर्क छ। कुरिनटारका सुदीप त्रिपाठीले मंसिरमा एमालेलाई मत दिएका थिए। चुनावअघि उनले हामीसँग यही बताएका थिए। संयोगले यसपटक पनि उनीसँग हाम्रो भेट भयो। त्रिपाठी स्वयंले यसपटक आफूले मत बदल्ने निर्णय गरेको बताए। यसको पछाडि उनको आफ्नै तर्क छ।
‘हामी त त्रिशूलीमा पौडी खेलेर हुर्किएका हौं। त्रिशूलीमा पौडिँदा भेलसँगै जान सकिएन भने कि थाकिन्छ कि डुबिन्छ। त्यसैले मैले रास्वपा रोजेको हो,’ उनले भने, ‘रास्वपा त्रिशूलीजस्तो बनेको छ। तर पुराना पार्टीहरू स्विमिङ पुलजस्ता भएका छन्।’
रविलाई मत दिनुका कारणबारे उनका प्रशंसकहरू अनेक विशेषण थप्न सक्छन्। तर कांग्रेस-एमालेका समर्थकहरू आफूले विगतमा भोट दिँदै आएकाले उसैलाई भोट दिने मात्र बताउँछन्। उनीहरूले आफ्ना विगतका समर्थकलाई पार्टीमा फर्काउन सकेका छैनन्। रविका समर्थकहरू भने स्वस्फुर्त सडक र टोलमा प्रचारप्रसारमा जुट्छन्। उनीहरूले आफ्नै खर्चमा चोक-चोकमा घन्टी चिह्नको पेन्टिङ गरेका छन्। प्रचारप्रसार मंसिरको भन्दा आक्रामक देखिन्छ। यसले के देखाउँछ भने रविप्रतिको ‘क्रेज’ मा कमी आएको छैन।
कांग्रेस-एमालेका नेताहरूले मंसिरमा भन्दा यसपटक आफूहरूको अवस्था राम्रो हुन्छ भनी गरेको दाबीलाई उनीहरूकै कार्यकर्ता पत्याउँदैनन्। भोट माग्न आउने आफ्ना पार्टीका नेतालाई उनीहरूले कसरी झुक्याइरहेका छन् भन्ने पनि चितवनमा थाहा पाउन सकिन्छ।
इच्छाकामनामा एक दम्पती भेटिए। उनीहरूले मंसिरमा रास्वपालाई भोट दिएका थिए। यसपटक पनि रास्वपामै भोट दिने बताउँछन्। हामी श्रेष्ठ दम्पतीको घर पुग्दा दुवैले रविको प्रशंसा गरे। उनीहरूले एक स्वरमा रविलाई काम गर्न नदिइएको बताए।
‘हुन त हामी एमाले हो। एमाले उम्मेदवार रामप्रसाद न्यौपाने भोट माग्न आउँदा हामी त यसै एमाले, अन्त बिग्रिएका ठाउँमा मिलाउनुस् भन्यौं,’ उनीहरूले भने, ‘तर हामी घन्टीमा भोट दिने हो। रविलाई जिताउनुको विकल्प छैन।’
नागरिकता प्रकरणमा रविले सांसद पद गुमाएपछि यो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो। मंसिरमा भएको निर्वाचनमा रविले ४९ हजार ३ सय मत ल्याएका थिए। उनले सदर भएको ८० हजार ७ सय ५३ मध्ये ६१.०५ प्रतिशत मत पाएका थिए। जबकि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत ल्याएका थिए।
यसपटक रविले त्यही अनुपातमा मत ल्याउँछन् कि ल्याउँदैनन् भन्ने सर्वाधिक चासोको विषय बनेको छ। कांग्रेस-एमाले समर्थकसमेत रविले चुनाव त जित्छन् तर पहिलेजस्तो भोट ल्याउँदैनन् भन्छन्। अर्थात्, कांग्रेस-एमालेका बहुसंख्यक कार्यकर्ताले समेत रविले फेरि जित्ने अनुमान गरेका छन्। रवि समर्थकले त उनको मत बढ्छ भनेर यसै भन्ने भइहाले।
प्रतिक्रिया गर्नुहोस्