एमाले केन्द्रीय कमिटी बस्दै, समूह छलफलपछि स्थायी कमिटी बैठक

 

 

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे १० बजेबाट सुरू हुने दोस्रो दिनको बैठकमा ४ वटा प्रदेश कमिटीले पार्टीले गत फागुनबाट सुरू गरेको मिसन ग्रासरूट अभियानमा केन्द्रित रहेर तयार पारेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यस्तै सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले निकायगत कामको प्रतिवेदन पेश गरेका थिए।

बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, मधेश, कोशी प्रदेशको प्रतिवेदन पेश भइसकेको छ। सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव छविलाल विश्वकर्माले प्रतिवेदन पेश गरेका थिए। कोशीबाट त्यस प्रदेशका इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन पेश गरेका थिए।

आज बाग्मती, गण्डकी र उपत्यका विशेष कमिटीको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बाँकी प्रदेशको प्रतिवेदन सुनिसकेपछि ८ वटा समूह बनाएर छलफल गरिने पनि उनले बताए। छलफलका लागि सात वटा प्रदेशको सात समूह तय भएको छ।

त्यस्तै पेशागत र सम्पर्क समन्वय कमिटीको अलग्गै समूह तय गरेर प्रतिवेदनमाथि सदस्यलाई राय राख्न लगाइने छ।

आजकै बैठकमा सबै समूहका छलफलको निष्कर्ष र सुझाव प्रस्तुत गर्ने कार्यसूची छ।

 

त्यसपछि स्थायी कमिटीको बैठक बस्ने पनि रिजालले जानकारी दिए। स्थायी कमिटी बैठकले समूहगत छलफलको राय, सुझाव र निष्कर्षको आधारमा वार्षिक कार्ययोजना तय गर्ने कार्यसूची छ।

त्यो कार्ययोजना शनिबार पेस गरेपछि केन्द्रीय कमिटीको बैठक सकिने पनि उनले जानकारी दिए।

‘एमालेको आचरण धराशायी बन्यो’
प्रदेशगतरूपमा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा नेकपा एमाले संगठनात्मकरूपमा कमजोर बन्दै गएको, आचरण शुद्ध नभएको र पार्टी काममा शिथिलता आउँदै गएको निष्कर्ष आएको पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

‘एमालेको शुद्ध आचरण हुनुपर्‍यो। पार्टी काममा गतिशीलता आउनुप¥यो भन्ने नै निष्कर्ष आएको थियो,’ उनले भने।

‘मिसन ग्रासरूढ’अभियानले मुर्झाएको पार्टी संगठनलाई पुनर्जीवन दिएको पनि एमालेको बुझाइ छ।

प्रचार विभाग प्रमुख गुरूङले ५० प्रतिशत संगठित सदस्य नवीकरण भएको र नयाँ सदस्य पनि थपिएको जानकारी दिए।

‘कर्णाली र सुदूरपश्चिममा पार्टी सदस्य नवीकरण अन्यत्रको तुलनामा कमजोर छ, लुम्बिनी, कोशी र गण्डकी प्रदेशको राम्रो छ। औसतमा ५० प्रतिशत सदस्यको सदस्यता नवीकरण भएको छ,’ उनले भने।

नेकपा एमालेको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएपछि सचिव टोपबहादुर रायमाझी निलम्बनमा छन्।

त्यस्तै पार्टी अनुशासनविपरीत काम गरेको भन्दै हरिनारायण महतोलाई पनि निलम्बन गरिएको छ।

प्रतिक्रिया गर्नुहोस्