राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले प्रधानमन्त्रीको अलमल्याउने प्रवृत्ती र जनदबाबले सरकारलाई दिएको समर्थन फिर्ता लिन परेको बताएका छन्।
शुक्रबार केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले आफुहरुलाई सरकारमा सहभागि गराउने सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाएका थिए।
‘न्युनतम साझा कार्यक्रममा हाम्रा विषय समेट्ने र मन्त्रीहरुले स्वतन्त्र ढंगल काम गर्न पाउनुपर्ने भनेका थियौ।यसका लागि प्रधानमन्त्रीले पटक्पटक प्रतिबद्धता समेत जनाउनुभएको हो,’ लामिछानेको भनाई उदृत गर्दै बैठकका एक सहभागिले भने, ‘एकातिर प्रधानमन्त्रीले हामीलाई सरकारमा आउन भन्नुभयो भने अर्कोतिर हिजो सरकार विस्तार गर्नुभयो।त्यसैले हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ।’
लामिछानेले आफुहरुलाई जनताले प्रतिपक्षमा बस्न दबाब दिएको समेत बताएका थिए।
‘हामीले उपनिर्वाचनबाट जनताको थप विश्वास पाएका छौ।रचनात्मक प्रतिपक्षको भुमिकामा रहन जनदबाब छ।’लामिछानेले बैठकमा भनेका थिए, ‘अहिलेलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने हो।भोलि फेरी अर्कै परिस्थिती आएछ भने अर्कै कुरा हो।’
लामिछानेपछी बोल्ने सबैजसो सांसद र केन्द्रीय सदस्यहरुले अहिलेको अवस्थामा प्रतिपक्षमै बस्न जरुरी रहेको बताएका थिए।
केन्द्रीय सदस्य मोहन थापाले मात्रै सरकारमा गएर जनचाहना अनुसार काम गर्न सरकारमा जानुपर्ने धारणा राखेका थिए।केही सांसदहरुले सरकारमा जादै नजाने भनेर निर्णय गर्न नहुने तर्क गरेका थिए।अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि हामी २०८४ अघि सरकारमा नजाने भनेर निर्णय गर्न नहुने उनीहरुको भनाई छ।
बैठकपछी पत्रकार सम्मेलनमा बोल्दा समेत रास्वपा सभापति रवि लामिछानेले आफूहरू सरकारमा जानेनजाने कुरा परिस्थितीले निर्धारण गर्ने बताएका थिए।उनले सरकारको नेतृत्व गर्न पाएमा त्यसको लागि तयार रहेको समेत बताएका थिए।
पुस १० गते रास्वपा सरकारमा सहभागि भएको थियो।माघ २२ गते सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको थिएन।
उपप्रधानमन्त्रीसहित गृह, शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री लिएर रास्वपा सरकारमा सहभागी भएको थियो ।
वैशाख १० गते भएको उपनिर्वाचनपछि रास्वपाले सरकारमा सहभागी हुनका लागि छलफल गरेको थियो । प्रधानमन्त्री प्रचण्डले पनि सरकारमा सहभागी हुन रास्वपालई आग्रह गरेका थिए।यद्दपि प्रधानमन्त्री प्रचण्डले बिहिबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।
रास्वपाले भने विगतमा आफूहरुले लिएका मन्त्रालय पाउनुपर्नेअडान राखेको थियो।
पत्रकार सम्मेलनमा भने रास्वपा सभापति लामिछानेले आफूहरुले विगतका मन्त्रालय पाएको भएपनि जनचाहना अनुसार प्रतिपक्षमा बस्ने निर्णय गरेको दावी गरेका थिए।
प्रतिक्रिया गर्नुहोस्