नेपाल भर्सेस भुटान : दुई कप्तान किरण र चेन्चोको प्रतिस्पर्धा

नेपालका लागि बलियो प्रतिद्वन्द्वी होइन भुटान। भुटानसँग अहिलेसम्म खेलेका १४ खेलमा नै नेपाल विजयी भएको छ। नेपालले फुटबल इतिहासमा सबैभन्दा ठूलो जित पनि भुटानविरूद्ध नै हासिल गरेको छ। सन् १९९९ मा नेपालले भुटानलाई ७-० गोलले पराजित गरेको थियो।

तर सफल इतिहासले मात्र खेल जितिन्न। खेल जित्न विपक्षीको पोस्टमा गोल गर्नु पर्छ। पछिल्लो समय फुटबलमा लगानी गर्दै सफलतातिर लम्किरहेको भुटानलाई नेपालले मैदानमा कमजोर आँक्न भने मिल्दैन।

साफ फुटबलको सबैभन्दा कमजोर भुटान तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कियो। नेपालमा जारी प्रधानमन्त्री थ्री नेसन्स कपमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको भुटानले गत शनिबार दशरथ रंशगालामा तीन वर्षपछि आफ्नो पहिलो खेल खेल्यो। तर भुटानले सुखद नजिता निकाल्न सकेन। लाओसविरुद्धको  खेलमा भुटान २-१ गोलले पराजित भयो। 

नेपाल, लाओस र भुटानबीचको यो प्रतियोगितामा मंगलबार साँझ ६ बजे नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। भुटानसँग कहिल्यै नहारेको नेपालका लागि त्यो इतिहास कायम राख्नु पर्ने चुनौती छ।

लाओसविरुद्धको पहिलो खेलमा नेपालले राम्रो प्रदर्शन गर्न सकेको थिएन। पाएका दुवै अवसरलाई सदुपयोग गर्दै २-० गोलको जित निकालेको नेपालमाथि लाओसले दबाब दिएको थियो।

राष्ट्रिय टिमका दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भएपछि त्यसको असर नेपाली टिममा परेको छ। लाओसविरूद्ध गोल गरेका डिफेन्डर अनन्त तामाङले राष्ट्रिय टिममा नयाँ खेलाडीको आगमनसँगै टिम संयोजन मिलाउन कठिन भइरहेको बताएका थिए।

आज भुटानसँग बराबरी खेले नेपालका लागि फाइनल पुग्न पर्याप्त हुनेछ। तर नेपाल बराबरी खेलेर भुटानविरुद्ध खराब इतिहास लेखाउन भने चाहादैन। 

खेललाई नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु र भुटानका कप्तान तथा फरवार्ड चेन्चो ग्लाल्सेनबीचको प्रतिस्पर्धाको रुपमा लिइएको छ।

व्यवसायिक करिअरमा विगत केही वर्षदेखि किरण र चेन्चो एउटै क्लबबाट खेल्छन्। भारतको पञ्जाब एफसीबाट यो सिजनसँगै खेलेका किरण र चेन्चोले आइलिगको उपाधि उचाल्ने अवसर पाएका थिए। 

यसपटक एकअर्काविरुद्ध मैदान उत्रन लागेका दुवै खेलाडी उत्साहित छन्। प्रतियोगिताअघि किरण र चेन्चोले एकअर्काको टिमलाई सम्मान गर्ने बताएका थिए। 

‘हामी दुवै जना एउटै क्लबबाट खेल्छौं। भारतमै रहदा नेपाल र भुटानबीच खेल हुने तय भएको थियो। त्यसपछि भने हामीले खेलको विषयमा कुरा गर्न थालेका थियौं,’ नेपालका कप्तान किरणको भनाइ छ, ‘चेन्चोले नेपालविरुद्ध गोल गर्ने कुरा गर्दा म त्यो गोल हुनबाट रोक्छु भन्दै हामी हाँसो गर्थ्यौं।’

किरणविरुद्ध खेल्नका आफू उत्साहित भएको चेन्चोको भनाइ छ। ‘किरणविरुद्ध खेल्नका लागि म उत्साहित छु। हामी आफ्नो राष्ट्रिय टिमबाट खेल्दैछौं। एकअर्कालाई सम्मान गर्छौं,’ चेन्चोको भनाइ छ। 

प्रतिक्रिया गर्नुहोस्