इन्टरनेटलाई हामीले खराब रूपमा लिन हुँदैन। यसले हामीलाई धेरै सहयोग गरेको छ। तर यसको अत्यधिक प्रयोग गर्नाले कतिलाई इन्टरनेटको लत लागेको छ। यसमा पनि कतिपयमा सामाजिक सञ्जालको लत, गेम एडिक्सन, पोर्न एडिक्सन बढेको छ। सुरूमा लतमात्र लाग्ने पछि लत बढ्दै गएर मानसिक र पारिवारिक तनाव समेत हुने गरेको छ। सम्बन्धमा, काममा, स्कुलमा असर परेको छ जसले गर्दा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या धेरै आउँछन्।
इन्टरेनट धेरैले चलाउनुपर्छ तर लत केलाई भन्ने त? जब कसैले इन्टरनेट ढाँटेर चलाउँछन् भने त्यो लतको बाटो हो। जस्तो बच्चाहरूले पढ्दैछु भनेर गेम खेल्ने गरेका छन् भने त्यो लत हो। सुरूमा अलि अलि चलाउने पछि यति धेरै चलाउने कि रातभर समेत चलाउने गरेको देखिन्छ।
पहिला-पहिला बाहिर गएर खेल्न मन लाग्ने हुन्थ्यो, परिवार र साथीभाइसँग घुम्न मन लाग्ने हुन्थ्यो तर अहिले इन्टरनेटमै भुल्न थाल्नु पनि लत हो। कहिलेकाहीँ आफूले रोक्न खोज्दा समेत रोक्न नसक्ने अवस्था आउन सक्छ।
आफन्त साथीभाइ र जागिरमा असर पर्यो भन्दा समेत इन्टरनेट चलाइरहन मन लाग्नु इन्टरनेट एडिक्सनका लक्षण हुनसक्छन्।
अल्कोहल, हिरोइन र कोकिनको एडिक्सन भएमा मस्तिष्कमा परिवर्तन आउँछ। त्यस्तै, इन्टरनेट एडिक्सनमा समेत मस्तिष्कमा परिवर्तन आउने रहेछ भनेर बुझ्न सकिन्छ।
अहिले घरमा हेर्नुभयो भने जतिखेर पनि मोबाइल चलाइन्छ। कसैले फेसबुक, इन्स्टाग्रममा केही पोष्ट गर्यो अनि टिङ्ग आवाज आयो भने खुसी लाग्छ। त्यो भनेको मस्तिष्क भित्रको रसायनले खुसी बनाएको हो। त्यो बेलामा मलाई इन्टरनेट समस्या हुन लाग्यो कि भनेर आशंका गर्न सकिन्छ। यसले गर्दा एकातिर आफ्नो शरीरमा समस्या हुन्छ भने अर्कोतिर पारिवारिक समस्या, आर्थिक समस्या, बच्चाहरूको स्कुलमा पढाइको समस्या समेत बढेको छ।
काम गर्दा इन्टरनेट चलाउनु एउटा कुरा हो तर बाथरूम जाँदा र खाना खाँदा समेत मोबाइल चलाउनु इन्टरनेट लतको लक्षण हो। मैले हेरिनँ भने केही छुट्छ कि भन्ने आतुरपनले यस्तो भएको हो। जतिखेर पनि आतुरता भइरहने भयो भने त्यो पनि लक्षण हो।
कतिपय श्रीमान\श्रीमतीले जतिबेला पनि मोबाइल चलाइरहन्छ, मेरो कुरा सुन्दैन, अनि कसैलाई केही म्यासेज पठाएको छ कि भन्ने शंका गर्ने, टिकटकमा मेरो भिडिओ राख्यो अथवा फेसबुकमा किन फोटो राखेको जस्ता समस्या लिएर आइरहेका हुन्छन्। इन्टरनेटले गर्दा कलह भइरहेको छ।
अहिले इन्टरनेट एडिक्सनलाई रोगकै रूपमा लिइएको छ। एमआरआई गर्दा मस्तिष्कमा समेत परिवर्तन देखिएको छ।व्यक्तिलाई देखिएको समस्याको आधारमा उपचार र काउन्सिलिङ समेत गर्न थालिएको छ।
बच्चाहरूलाई मोबाइल देखाउँदै खाना खुवाउने बानी छ भने हटाउनुपर्छ। सुरूमा केही गाह्रो हुन सक्छ तर प्रयास गर्ने हो भने असम्भव भन्ने छैन।
प्रतिक्रिया गर्नुहोस्