पर्दा पछाडिका हिरो
सलोनीले कम्प्युटरकै छेउमा दुइटा कप, तातोपानी भरिएको थर्मस र अर्गानिक चियापत्ती राखिदिएकी छन्।
प्रवीण इच्छाअनुसार चिया पिउँछन्।
सलोनी उनकी श्रीमती हुन्।
दुवै कपमा चियापत्ती र तातोपानी हाल्दै प्रवीण श्रेष्ठले भने, 'मेरी श्रीमती मलाई धेरै माया गर्छिन्। सधैं यसरी चियाको सामान राखिदिएर बाहिर जान्छिन्।'
प्रवीणका दुवै गोडा चल्दैनन्। यताउति गर्ने सहारा ह्विलचेयर हो। उनी घरमै आफ्नो काममा व्यस्त हुन्छन्। दिनभरि भिडिओ सम्पादन गर्छन्।
प्रवीणले 'मोक्ष' फिल्मको एउटा गीतको दृश्य देखाए।
दृश्यसँगै शब्दहरू गुन्जिए–
खुला आकाशमा पन्छीहरू उडेझैं उड्न मन लाग्छ
खुला आकाशमा... खुला आकाशमा... हो... खुला आकाशमा...
मोक्ष फिल्मको मुख्य पात्रका पनि दुवै गोडा चल्दैनन्। उसलाई पखेटा भरेर पन्छीले झैं खुला आकाशमा उड्न मन लाग्छ। यो फिल्मको कथा प्रवीणकै जीवनमा आधारित छ। निर्देशन पनि उनैले गरेका हुन्। फिल्म पूरा गर्न १९ महिना लाग्यो।
फिल्म अलि पुरानै हो, सन् २०१४ मा रिलिज भएको।
हलमा मोक्ष राम्रो चलेन तर यही फिल्मले उनलाई फरक परिचय र उचाइ दियो।
'फिल्मले पैसा कमाउन सकेन तर त्यो वर्ष धेरै अर्वाड जित्यो। मेरा लागि खुसीको कुरा त्यही थियो,' प्रवीणले भने।
फिल्म बनाउनुअघि एक दिन उनी अपांगता भएकाहरूको संगठन 'राष्ट्रिय अपांग महासंघ' को कार्यालय गए। त्यहाँ विभिन्न किसिमका अपांगता भएका व्यक्तिहरूसँग भेट भयो। उनीहरूसँग संगत भयो। प्रवीणले उनीहरूका अनेक प्रतिभा नजिकबाट नियाल्न पाए। यसबाट उनको हिम्मत बढ्यो।
'महासंघमा पुगेपछि मैले आफूजस्तै धेरै व्यक्तिहरू भेटेँ। उहाँहरूबाट प्रेरित भएँ। अनि आफूजस्ता व्यक्तिका कथा भन्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ,' उनले भने, 'कथा त भन्ने तर केबाट सुरू गरूँ भन्ने अन्यौल भयो।'
साथीहरूले उनलाई आफ्नै जीवनकथा फिल्ममा उतार्न सुझाए। सुरूमा त प्रवीणले डकुमेन्ट्री मात्रै बनाउने सोचेका थिए। फिल्मले शिक्षासँगै केही रमाइलो पनि दिन्छ भन्ने निष्कर्षका साथ उनी फिल्ममा फड्किए।
'फिल्ममा धेरै कुरा देखाउन सक्थेँ। रमाइलोसँगै शिक्षाका कुराहरू भन्न सक्थेँ। समय पनि लामो पाएँ,' ४५ वर्षीय प्रवीणले भने, 'निर्देशन पनि आफैं गरे।'
भिडिओ सम्पादक र फिल्म निर्देशक हुने दक्षता हासिल गर्न उनले संघर्ष र मेहनत गरेका छन्। उनको रहर त गीत-संगीतमा थियो। नियतिको खेलले भिडिओ सम्पादक र फिल्म निर्देशक बनाइदियो।
प्रवीणका गोडा सुरूदेखि नै नचलेका होइनन्। उनीमाथि भएको एउटा भयानक दुर्घटनाले यो अवस्था भएको हो। त्यो घटना नहुँदो हो त उनी संगीतमा रमाइरहेका हुन्थे सायद!
तीस वर्षअघि एसएलसी दिएपछि उनले गितार बजाउन सिकेका थिए। दाइले गितार बजाएको देखेर उनी पनि त्यसमा तानिए। बिहान कलेज जाने र दिनभरि संगीत सिक्ने दिनचर्या थियो। यसैबीच कार्यक्रमहरूमा गीत गाउन र गितार बजाउन सुरू भयो। अलिअलि आम्दानी पनि हुन थाल्यो।
२०५४ सालको एक दिन उनी एउटा कार्यक्रममा गीत गाएर घर फर्किँदै थिए। रात छिप्पिन थालेको थियो। सडक किनारमा उभिएर उनी गाडी कुरिरहेका थिए। अनुहार छोपेर आएका केटाहरूको एउटा समूहले उनलाई अचानक पछाडिबाट आक्रमण गर्यो। ढाडमा चक्कु प्रहार गर्यो।
नकाबधारी केटाहरूलाई सडकको मधुरो उज्यालोमा चिन्ने कुरै भएन। लगत्तै उनी सडकमै ढले।
'अन्धाधुन्ध आक्रमण गरे, चक्कु हाने। म त्यहीँ बेहोस भएछु। आँखा खुल्दा हस्पिटलमा थिएँ। गोडा चलेको थिएन,' घटनाबारे उनले भने।
चिकित्सकहरूले गोडासँग जोडिएको ढाडको नसामा चक्कुले चोट लागेको बताए। निकै लामो समय उपचार चल्यो तर गोडा चलेनन्। जसोतसो ह्विलचेयरमा बसेर यताउता गर्न सक्ने भए।
त्यति बेला उनी स्नातक तह दोस्रो वर्षमा पढ्दै थिए। घटनापछि पढाइ छुट्यो। ह्विलचेयरको सहारामा पुगेपछि स्टुडियोसम्म जाने, गीत गाउने काममा कठिनाइ भयो। आजभोलि भन्दाभन्दै संगीतको अभ्यास छुट्दै गयो।
अब के गर्ने! कसरी अघि बढ्ने!
यस्तै कुराले प्रवीणको मनमा खैलाबैला मच्चाउँदै थियो। एक दिन दाइका एक जना साथी घरमा आएका थिए।
उनले एउटा उपाय सुझाए, 'भाइ, तिमीलाई म्युजिकमा भन्दा भिडिओ सम्पादनमा काम सजिलो हुन्छ। सम्पादन सिकेपछि घरमै बसेर काम गर्न सक्छौ। सहज हुन्छ।'
प्रवीणलाई सुझाव चित्त बुझ्यो।
'बुबाको जागिरले मात्र घरखर्च चलाउनुपरेको देख्दा मन खिन्न हुन्थ्यो। कुनै सिप सिकेर आफूले सक्ने काम गर्नु थियो,' उनले भने।
भिडिओ सम्पादन सिकाउने केही ठाउँ पत्ता लगाएर सम्पर्क गरे।
'तर ह्विलचेयर प्रयोग गर्ने व्यक्ति हुँ भनेपछि मौका दिएनन्,' उनले भने।
प्रवीणका मिल्ने साथी थिए निराजन पन्त। पछि निराजनकै सहयोगमा सिक्ने ठाउँ फेला पर्यो। प्रवीणलाई प्रशिक्षणमा लैजाने र ल्याउने जिम्मा निराजनले नै लिए। उनी आफू पनि भिडिओ सम्पादन गर्थे। प्रवीणलाई घरमै पनि सिकाए। यसरी उनले दुई महिनामा भिडिओ अर्थात दृश्य सम्पादनको एक तहको काम सिके।
सिप भए पनि उनलाई पत्याएर काम दिइहाल्ने कोही भएन। उपाय खोज्दै जाँदा संगीतमा पहिले काम गर्दा चिनेका साथीसँग मिलेर कम्प्युटर किने। आफ्नै गीतहरू सम्पादन गर्न थाले।
बिस्तारै उनलाई बिहेको भिडिओ सम्पादन गर्ने काम आयो। उनको काममाथि मान्छेले विश्वास गर्न थाले। यही क्रममा उनले कलाकार निशा अधिकारी अभिनीत म्युजिक भिडिओ सम्पादनको काम पाए। यही नै उनको पहिलो व्यावसायिक सम्पादन बन्यो।
'सुरूमा पाएको काम जसरी पनि राम्रो गर्नु थियो। त्यही कामले मलाई थप अवसर दिलाउँथ्यो,' उनले भने।
साँच्चै उनले सोचेजस्तै भयो। उनको पहिचान भिडिओ सम्पादक प्रवीण श्रेष्ठ बन्यो।
यसरी ह्विलचेयरमा बसेर नयाँ पेसामा आफ्नो पहिचान बनाएका प्रवीणले हालसम्म दुई हजारभन्दा धेरै भिडिओ सम्पादन गरिसकेका छन्। यसमध्ये एक हजार म्युजिक भिडिओ, पाँच वटा डकुमेन्ट्री र बाँकी विज्ञापन लगायतका हुन्।
हालै उनलाई 'निकिला मिडिया नेटवर्क' ले उत्कृष्ट भिडिओ सम्पादकको अवार्डले सम्मानित गर्यो। यसअघि नै विभिन्न क्षेत्रबाट सम्मानपत्रसँगै अन्य अवार्ड पाएका छन्।
उनी आफ्नो कामबारे भन्छन्, 'भिडिओ सम्पादन भनेको कला नै हो। आफूले गर्न चाहेको काम र प्राप्त गर्न चाहेको परिणामबारे प्रष्ट हुनुपर्छ। काममा कहिलेकाहीँ सम्पादक र निर्देशकको दृष्टिकोण फरक पर्छ, बहस हुन्छ।'
प्रवीणका अनुसार भिडिओ सम्पादक भनेको कथा वाचक पनि हो। उसले गीत वा कथावस्तुअनुसार दृश्यहरू मिलाउनुपर्छ। यसो गर्नु भनेको दृश्यबाट कथा भन्नु हो।
'भिडिओ सम्पादकले दृश्यबाट कथा भन्न सक्नुपर्छ। यस्तो सम्पादक मात्र सफल हुन्छ,' उनले भने।
प्रवीण आफ्नो काममा दक्ष छन्। कोरोनाताका त उनी दैनिक १८ घन्टासम्म व्यस्त भए। हाल सरदर दस घन्टा काम गर्छन्।
निकै कठिन परिस्थितिमा परिवारजन र साथीहरूको सहयोग पाएर आफू यहाँसम्म आइपुगेको उनी बताउँछन्। सबैको सहयोगले उनको आँट, भरोसा र ऊर्जा बढ्यो।
प्रवीणलाई आफूले गर्न नसक्ने काममा अरूले सहयोग गर्दा भने अपांगताको भाव अनुभव हुन्छ।
'आफूले गर्न नसक्दा अरूको सहयोग चाहिन्छ। त्यस बेला अपांगताको अनुभव हुन्छ,' उनले भने।
पहिले त उनलाई 'अपांगता भएका व्यक्ति' भनेको राम्रो लाग्दैन थियो। बिस्तारै सुन्न अभ्यस्त भए। तर अझै पनि उति चित्त बुझ्दैन।
'बिस्तारै भिज्दै गएपछि अपांगता शब्द पनि सामान्य लाग्न थाल्यो। तर शारीरिक रूपमा अशक्त भएको मान्छेलाई अपांगता भएको, फरक क्षमताको किन भनिरहनु र? क्षमताअनुसारको अवसर पो दिनुपर्छ,' उनी भन्छन्।
अपांगता भएका व्यक्तिमाथि दुर्व्यवहार हुने गरेको उनको अनुभव छ। पुरूषमाथि पनि यौन दुर्व्यवहार हुन सक्छ। प्रवीणले यस्तो पनि भोगेका छन्।
'यौन दुर्व्यवहारका धेरै घटना महिलामाथि नै हुन्छन्। अपांगता भएका महिला अझ धेरै जोखिममा हुन्छन्। तर यौन दुर्व्यवहार केटाहरूमाथि पनि हुन्छ। केटाले ममाथि यौन दुर्व्यवहार भयो भन्दा हाँसोको पात्र हुनसक्छ, तर यो सत्य हो,' उनले भने, 'ममाथि पनि गलत छुवाइका घटना भएका छन्। कसैले मेरो गोप्य अंगमा छुने प्रयास गरेको छ।'
राज्यका निकायले अपांगता भएका व्यक्तिहरूलाई समुचित सुरक्षा दिनुपर्छ भन्ने उनको धारणा छ।
अपांगता भएका व्यक्तिहरूप्रतिको दृष्टिकोणमा बिस्तारै सकारात्मक परिवर्तन हुँदै गएको पनि उनको अनुभव छ। यस्ता व्यक्तिले पनि काम गर्न सक्छन् भन्ने धारणा विकास हुँदैछ।
'अपांगता भएको व्यक्तिले काम गर्न सक्दैन भन्नु खराब मानसिकताको उपज हो,' प्रवीण भन्छन्।
भिडिओ सम्पादनमा जमिरहेका प्रवीण पर्दा पछाडिका हिरो हुन्।
प्रतिक्रिया गर्नुहोस्