पपुवा न्युगिनीले एकदिवसीय मान्यता गुमाएको छ। नामिबियामा भइरहेको विश्वकप क्रिकेट क्वालिफायर प्लेअफ प्रतियोगिताको अन्तिम खेलअघि नै पपुवा न्युगिनीले एकदिवसी मान्यता गुमाएको हो।
अमेरिका, युएई, क्यानडा, नामिबिया, जर्सी र पपुवा न्युगिनीबीच जारी प्रतियोगिताको शीर्ष दुई टिम विश्वकप छनोटमा पुग्ने प्रावधान छ। यस्तै पपुवा न्युगिनी, युएई, जर्सी र क्यानडा मध्ये दुई टिमले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्ने अवस्था थियो।
आइसिसी विश्वकप लिग-२ मा शीर्ष पाँच भित्र परेका नामिबिया र अमेरिकाले भने चार वर्षका लागि एकदिवसीय मन्यता कायम गरेका थिए।
जारी प्लेअफ प्रतियोगितामा सुरुवाती चार खेल गुमाएपछि पपुवा न्युगिनीको एकदिवसीय मान्यता गुमेको हो। यसअघि विश्वपक लिग-२ खेलेको पपुवा न्युगिनीले अब एसोसिएट राष्ट्रले खेल्ने च्यालेन्ज लिग खेल्नु पर्नेछ।
अब युएई, क्यानडा र जर्सी मध्ये दुई टिमले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्नेछन्।
विश्वकप छनोटका पुग्नका लागि भने अमेरिका, युएई, क्यानडा, नामिबिया र जर्सी प्रतिस्पर्धा छन्। शीर्ष स्थानको अमेरिका र दोस्रो स्थानको युएईले चार चार खेलबाट ६-६ अंक जोडेका छन्। तीन खेलबाट ४ अंक जोडेको क्यानडा तेस्रो स्थानमा छ भने चौथो स्थानको नामिबियाले चार खेलबाट ४ अंक जोडेको छ। दुई खेल खेल्न बाँकी रहदा जर्सीले २ अंक जोडेको छ।
शीर्ष दुई टोली जुन र जुलाईमा जिम्बाब्वेमा विश्वकप छनोटमा पुग्नेछन्।
विश्वकप २०२३ मा आयोजक भारतसहित सुपर लिगको शीर्ष टिम न्युजिल्यान्ड, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान गरी सात टिम छनोट भइसकेका छन्।
जिम्बावेमा आगामी जुलाईमा हुने विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।
विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड र ओमान गरी ७ टिमले खेल्ने पक्का भइसकेको छ।
छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी ३ टिमको टुंगो लाग्न बाँकी छ। सुपर लिगबाट एक टिम र प्लेअफ क्वालिफायरबाट दुई टिम विश्वकप छनोटमा पुग्न बाँकी छ। प्लेअफ क्वालिफायर नामिबियामा जारी छ।
विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।
प्रतिक्रिया गर्नुहोस्