काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले खुलामञ्च निषेधित क्षेत्र नभएको बताएका छन्।
तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शंकास्पद रहेको उनले बताए।
आज बिहान फेसबुकमा लेख्दै मेयर बालेनले भनेका छन्, ‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन। तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन्।’
उनले मिटरब्याजीपीडितको आन्दोलन न्यायका लागि भएको बताए।
‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो। शिविर बनाएर महिनौं वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो। यसो नगरी सम्पुर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ,’ उनले भनेका छन्।
मिटरब्याज पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले संघीयतालाई निर्मम प्रश्न गरेको पनि उनी बताउँछन्।
‘पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशीघ्र चासो दिनु पर्ने हो। यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषदले दिनु पर्ने हो। पीडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो,’ उनले भने।
महानगरले मिटरब्याज पीडितलाई सुरक्षित बसाईका लागि बसोबासको विकल्प दिएको पनि मेयर बालेन बताउँछन्।
‘काठमाडौँ महानगरले उहाँहरुको सुरक्षित बसाइका लागि अन्यत्र सुरक्षित स्थानमा बसोबासको विकल्प दिइएको हो। तर उहाँहरुले खुलामञ्च भन्दा अन्य विकल्प मान्न तयार हुनु भएन। खुलामञ्चको विषयमा अनावश्यक उर्जा खर्चिनभन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उहाँहरु बालुवाटारतिर लाग्नु भएको छ,’ उनले भनेका छन्।
उनले स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्ने पनि बताए। खुलामञ्च आवाज बोल्न सबैका लागि सधैं खुला रहने उनले बताए।
प्रतिक्रिया गर्नुहोस्