एकै खेलमा ७ ब्याटरको अर्धशतक, साउदीलाई हराउँदै ओमान सेमिफाइनलमा

एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनले पराजित गरेको छ।

जित हात पारेसँगै ओमान सेमिफाइनलमा पुगेको छ। यस समूहबाट नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ। समूहबाट साउदी, मलेसिया र कतार भने बाहिरिएका छन्। 

समूहमा सबै चार खेल खेलेको शीर्ष स्थानको ओमानको ६ अंक छ। दोस्रो स्थानको नेपालको ५ अंक रहेको छ। बिहीबार नेपालले कतारसँग खेल्दैछ। जित हात पारे नेपाल समूह विजेता बन्नेछ। पराजित भएमा नेपाल उपविजेतामै सीमित हुनेछ भने ओमान विजेता हुनेछ।

बुधबार कीर्तिपुर मैदानमा ओमान र साउदीबीचको खेलमा दुवै टिमको गरी कुल सात अर्धशकत प्रहार भयो।

पहिले ब्याटिङ गरेको ओमानका पाँच ब्याटरले अर्धशतक प्रहार गर्दा जवाफी ब्याटिङ गरेको साउदीका दुई ब्याटरले अर्धशकक प्रहार गर्न सफल भए। 

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा ३६६ रन जोड्यो।

ओमानका लागि ओपनरद्वय कश्यप प्रजापतिले ५१ रन र जतिन्दर सिंहले ८८ रन जोडे। यस्तै शोएब खानले ६८ रन जोड्दा कप्तान जीशन मक्सूदले ५४ रन जोडे। मोहमद नदीपले नटआउट ७१ रन जोडेका थिए। पहिलो विकेटका लागि ओमानले १७.२ ओभरमा १२५ रन साझेदारी गरेको थियो। 

बलिङमा साउदीका अतिफ उर रहमानले ३ विकेट लिए भने अब्दुल वाहिदले २ विकेट हात पारे।

 

३६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा २९४ रनमा अलआउट भयो।

साउदीका लागि ओपनर अब्दुल वाहिदले ९५ रन जोडे। यस्तै शाद खानले ७८ रन बनाए। दुईबीच दोस्रो विकेटका लागि १७७ रनको साझेदारी भएको थियो। वाहिद र खान दुई बलको बीचमा आउट हुँदा साउदी निरास बनेको थियो।

बलिङमा ओमानका बिलाल खानले चार विकेट लिए। जय ओडेड्राले तीन विकेट लिन सफल भए।

प्रतिक्रिया गर्नुहोस्