३० वर्षमा ३० गुणाले बढ्यो निजी क्षेत्र, हालसम्म ३१ खर्ब ९१ अर्ब बराबर लगानी

उद्योग वाणिज्य महासंघले बिहीबार सार्वजनिक गरेको 'नेपालमा निजी क्षेत्रको अवस्थाः योगदान र चुनौती' विषयक प्रतिवेदनले विगत ३० वर्षमा नेपालको निजी क्षेत्र ३० गुणाले वृद्धि भएको उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय वित्त निगमसहितको संलग्नतामा तयार भएको यस प्रतिवेदन अनुसार सन् १९८३ मा नेपाल निजी क्षेत्रबाट २८ हजार ६ सय ६० वटा प्रतिष्ठानहरू स्थापना भएकोमा यसमा तीस गुणाले वृद्धि भएर सन् २०१८ मा ९ लाख २३ हजार ३५६ वटा पुगेको छ।

अध्ययन अनुसार निजी क्षेत्रको नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ८१.५५ प्रतिशत योगदान गरेको छ। नेपालमा उपलब्ध रोजगारीमा ८५.६ प्रतिशत निजी क्षेत्रबाट प्रदान हुने गरेको समेत अध्ययनले उल्लेख गरेको छ।

नेपालमा कृषि, वन र माछापालनबाट ५७ प्रतिशत, होलसेल, खुद्रा व्यापारसहित सवारी मर्मत सेवा क्षेत्रबाट १२.५ प्रतिशत रोजगार प्रदान भइरहेको छ। 

यी दुवै क्षेत्रको लगानीमा निजी क्षेत्रको बाहुल्यता छ। अध्ययन अनुसार सन् २०१८ मा कुल ५५ लाख मानिसलाई निजी क्षेत्रले रोजगारी प्रदान गरेको छ भने सरकारी स्तरबाट ४ लाख २७ हजारले रोजगारी प्राप्त गरेका छन्।

'प्राप्त प्रमाणको आधारमा भन्न सकिन्छ की नेपालमा सामाजिक आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको छ,' नेपालका लागि निगमका आवासीय प्रतिनिधि बाबाकार एस फायले भने, 'नेपालको सम्भाव्यता उपयोगको लागि यो अध्ययनले निजी क्षेत्र र सरकारलाई आवश्यक नीतिगत व्यवस्था बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौं।'

फायले नेपालीहरूलाई थप रोजगारी चाहिएको र बलियो र उत्पादनमूलक निजी क्षेत्रले मात्रै रोजगारी प्रदान गर्न सक्नेमा जोड दिए।

हालसम्म निजी क्षेत्रबाट ३१ खर्ब ९१ अर्ब बराबर लगानी भएको प्रतिवेदनले उल्लेख गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा निजी क्षेत्रबाट भइरहेको कुल २५.९ प्रतिशतले घटेको भए पनि आर्थिक वर्ष २०७६/७७ मा भने यस्तो लगानीमा २९.३ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७७/७८ मा भने यस्तो लगानी १८.१ प्रतिशतले बढेर १८ खर्ब ७ अर्ब पुगेको प्रक्षेपण छ।  

महासंघले सार्वजनिक गरेको प्रतिवेदनले नेपालका ५ सय १७ फर्महरूमा कोभिडको प्रभाव सम्बन्धमा अध्ययन समेत गरेको थियो।

कोभिडकालीन समयमा यीमध्ये ८७ प्रतिशत फर्महरू प्रभावित भएको र ६३ प्रतिशत पूर्ण रूपमा बन्द भएका थिए।

कोभिडकालीन समयमा गरिएको लकडाउनका कारण ७९ प्रतिशतको आम्दानी गुमेको र करिब ५० प्रतिशत भने लकडाउन हटेपछि नाफामा जान सकेको देखिएको छ। 

अध्ययनमा समेटिएका ५ सय १७ फर्महरूमा लगभग ५० प्रतिशत होलसेल र खुद्रा क्षेत्र, १३ प्रतिशत होटल क्षेत्र र १२ प्रतिशत उत्पादनमूलक क्षेत्र छन्।

प्रतिक्रिया गर्नुहोस्