मुलपानीमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल हुँदै

मुलपानीको माथिल्लो क्रिकेट मैदानमा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल हुने भएको छ।

नेपालमा भइरहेको एसिसी प्रिमियर कपअन्तर्गत शनिबार ओमान र युएईबीचको सेमिफाइनल खेलसँगै मुलपानीमा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने भएको हो। 

क्यानका अनुसार ओमान र युएई एकदिवसीय मान्यताप्राप्त टिम भएकाले दुई बीच हुने खेललाई पनि एकदिवसीय मान्यता प्रदान हुनेछ। प्रतियोगिता एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा भइरहेकाले एकदिवसीय मान्यताका लागि आइसिसीसँग कुरा भइसकेको क्यानको भनाइ छ। 

यसअघि मुलपानीमा समूह चरणका १० खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन्। तर शनिबार एकदिवसीय मान्यताप्राप्त दुई टिम भिड्ने भएसँगै मैदानले पनि एकदिवसीय मान्यता पाउने भएको हो। 

कपको अर्को सेमिफाइनलमा नेपाल र कुवेतबीच शनिबार त्रिवि मैदानमा खेल हुनेछ। कुवेत एकदिवसीय मान्यता प्राप्त टिम नभएकाले खेललाई एकदिवसीय मान्यता भने हुनेछैन। मुलपानी मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो। यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो। 

आइसिसीले विभिन्न मापदण्ड पूरा गरेपछि मात्र मैदानलाई एकदिवसीय मान्यता प्रदान गर्छ। मुलपानी मैदानमा ड्रेसिङ रुम, पेभिलियन लगायतका काम यहि महिनाको सुरुवातमा सकिएको थियो।

प्रतिक्रिया गर्नुहोस्