बाल्टिमोर , अमेरिका ।
प्रवासमा नेपाली कला, संस्कृति र मौलिक पहिचानको संरक्षणमा एउटा नयाँ इँटा थप्दै *राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अमेरिका शाखाको ऐतिहासिक प्रथम अधिवेशन* आगामी जुन २८ तारिख, आइतबारका दिन भव्य रूपमा सम्पन्न हुने भएको छ। उक्त प्रतीक्षित अधिवेशन अमेरिकास्थित माउन्ट एभरेस्ट रेस्टुरेन्टको सभा हलमा आयोजना गरिने तय भएको छ।
अमेरिका शाखाका संयोजक तथा लोकप्रिय गायक तथा संकलक उदय भट्टराईले दिएको जानकारीअनुसार, यो अधिवेशन केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई नेपाली संगीत जगत्कै एक उत्सवका रूपमा रहनेछ। अधिवेशनको अवसरमा नेपाली लोक र दोहोरी क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विभिन्न विशिष्ट स्रष्टा तथा कला साधकहरूलाई **विशेष सम्मान* गरिनेछ। यसका साथै, प्रवासमा रहेका ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुतिसहित *विविध सांस्कृतिक कार्यक्रमहरू*ले कार्यक्रमलाई थप रोचक र उल्लासमय बनाउने बताइएको छ।
"यो अधिवेशनले संस्थालाई नयाँ ऊर्जा र दिशा दिनेछ। यसै ऐतिहासिक घडीमा आगामी नयाँ कार्यकालका लागि सक्षम र ऊर्जावान् नयाँ नेतृत्वसहितको कार्यसमिति समेत चयन गरिनेछ," संयोजक भट्टराईले बताए।
नेपाली माटोको सुगन्ध बोकेको लोक तथा दोहोरी गीत, संगीत र मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विगत लामो समयदेखि निरन्तर क्रियाशील रहँदै आएको *राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल*ले विश्वका विभिन्न महादेश तथा देशहरूमा आफ्नो बलियो सञ्जाल विस्तार गरिरहेको छ।
यसै सन्दर्भमा हुन गइरहेको अमेरिका शाखाको यो पहिलो अधिवेशनलाई प्रवासमा रहेका सम्पूर्ण नेपाली लोकसंगीतप्रेमी, सर्जक तथा कला अनुरागीहरूको एउटा महत्वपूर्ण र ऐतिहासिक साझा जमघटका रूपमा हेरिएको छ। कार्यक्रममा अमेरिकाभर छरिएर रहेका नेपाली लोक तथा दोहोरि गीत संग सम्बन्धित कलाकारहरुको बाक्लो उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ।
अमेरिकामा नेपाली लोक-संस्कृतिको ऐतिहासिक उत्सव: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन जुन २८ मा हुँदै
प्रतिक्रिया गर्नुहोस्