बाल्टिमोर, अमेरिका — हिन्दू धर्म, संस्कृति तथा आध्यात्मिक प्रवचनका माध्यमबाट विश्वभरका लाखौँ श्रद्धालुहरूको मनमा विशेष स्थान बनाउन सफल लोकप्रिय कथावाचिका देवी प्रतिभा आगामी जुन १३ र १४ तारिख अमेरिकाको बाल्टिमोर आउने भएकी छन्। आध्यात्मिक चेतनासँगै नेपाली समुदायको एउटा ठूलो सामाजिक आवश्यकतालाई पूरा गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष कथावाचन कार्यक्रमको तयारी अब अन्तिम चरणमा पुगेको छ।
बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (BANA) को मुख्य आयोजनामा हुन लागेको यो बृहत् आध्यात्मिक तथा सामाजिक महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित बनाउन १०५ सदस्यीय मूल समारोह समिति र त्यसअन्तर्गत २२ वटा विशेष उपसमितिहरू गठन गरिएका छन्, जसले यतिबेला द्रुत गतिमा काम गरिरहेका छन्।
धर्म, संस्कृति र सामाजिक सेवाको त्रिवेणी
यो कार्यक्रम केवल धार्मिक अनुष्ठान मात्र नभई नेपालीपन र सामाजिक दायित्वलाई जोड्ने एउटा बलियो कडी बनेको छ। नेपाली समुदायका लागि अत्यन्तै आवश्यक मानिएको 'क्रियापुत्री भवन तथा फ्युनरल होम' निर्माण अभियानलाई गति दिन र आर्थिक सहयोग जुटाउन यो कथावाचनको परिकल्पना गरिएको हो। कार्यक्रम बाल्टिमोरस्थित Royal Palace (1700 Van Bibber Rd) मा भव्य रूपमा सम्पन्न हुनेछ।
बानाका अध्यक्ष जितेन्द्र गुरुङले यस आयोजनलाई 'धर्म, संस्कृति र सामाजिक सेवाको त्रिवेणी' को रूपमा अर्थ्याएका छन्। "आफ्नो धर्म-संस्कृतिको जगेर्ना गर्दै समुदायको एउटा ऐतिहासिक र पुण्य कार्यमा हातेमालो गर्ने यो एउटा सुनौलो अवसर हो," अध्यक्ष गुरुङले भने, "यस पवित्र कार्यमा सहभागी भई कथा श्रवण गर्न र हाम्रो आफ्नै सपना—क्रियापुत्री भवन निर्माण अभियानलाई सफल पार्न म सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अपिल गर्दछु।"
२२ उपसमितिहरूको २४ सै घण्टा कमाण्ड: कस्तो छ तयारी?
कार्यक्रमलाई पूर्ण रूपमा व्यवस्थित बनाउन भुइँतहमा व्यापक तयारी भइरहेको छ। आयोजकका अनुसार हरेक उपसमितिहरूले आ-आफ्नो जिम्मेवारी सम्हाल्दै तीव्र रूपमा काम गरिरहेका छन्:
प्राविधिक तथा व्यवस्थापन: मञ्च निर्माण, अत्याधुनिक ध्वनि प्रणाली (Sound System), सरसफाइ, र सम्पूर्ण कार्यक्रमको स्तरीय फोटो तथा भिडियो दस्तावेजीकरण (Documentation)।
अतिथि तथा पूजा व्यवस्थापन: प्रमुख कथावाचिका देवी प्रतिभा तथा अन्य विशिष्ट अतिथिहरूको बसाइ (आवास व्यवस्थापन), विशेष अतिथि निमन्त्रणा, पूजा सामग्री संकलन र ब्राह्मण सेवा।
सुरक्षा र स्वयंसेवा: चुस्त सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार (First Aid) सुविधा, र परिचालनका लागि व्यापक स्वयंसेवक टोली।
पारदर्शिता र सम्मान: सहयोग संकलन तथा डिजिटल अभिलेखीकरण, प्रमाणपत्र वितरण, र चन्दादाताहरूको उचित सम्मान व्यवस्थापन।
संकलित शतप्रतिशत रकम सामाजिक परियोजनामा
आयोजकका अनुसार यस कथावाचन कार्यक्रमबाट संकलित हुने सम्पूर्ण रकम (शतप्रतिशत) क्रियापुत्री भवन तथा फ्युनरल होम निर्माण कार्यमै खर्च गरिनेछ। प्रवासमा हुर्कँदै गरेको नेपाली पुस्तालाई आफ्नो संस्कारसँग जोड्न र दुःखद घडीमा नेपाली समुदायलाई आफ्नै रीतिथिति अनुसार सहज सेवा प्रदान गर्न यो परियोजना कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ।
वरपरका राज्यहरूबाट पनि उत्साहजनक सहभागिताको अपेक्षा
यो बृहत् आध्यात्मिक एवं सामाजिक उत्सवमा बाल्टिमोर र यसकै आसपासका क्षेत्रहरू मात्र नभई वासिङ्टन डीसी, भर्जिनिया, पेन्सिल्भेनिया लगायतका छिमेकी राज्यहरू र विभिन्न संघसंस्थाहरूबाट समेत नेपाली समुदायको उल्लेखनीय र उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
धार्मिक चेतनाको माध्यमबाट सांस्कृतिक संरक्षण र सामुदायिक हितलाई एकसाथ अगाडि बढाउने बानाको यो पृथक् एवं पवित्र प्रयासलाई यतिबेला अमेरिकामा रहेका नेपालीहरूले निकै चासो, उत्सुकता र प्रसंशाका साथ हेरिरहेका छन्।
बाल्टिमोरमा देवी प्रतिभाको विशेष कथावाचनको तयारी अन्तिम चरणमा: १०५ सदस्यीय मूल समिति र २२ उपसमितिहरू मैदानमा
प्रतिक्रिया गर्नुहोस्