कमल सौरागको नयाँ गीत ‘तिमीलाई देखेर’ सार्वजनिक

 

बाल्टिमोर/ नेपाली लोक तथा आधुनिक संगीतका लोकप्रिय गायक, संगीतकार तथा संगीत संयोजक कमल सौरागको नयाँ गीति संग्रह ‘तिमीलाई देखेर’ सार्वजनिक भएको छ। प्रेमको पहिलो अनुभूति, मनभित्रको संकोच, आकर्षण र मायाको मिठासलाई समेटिएको यो गीतले श्रोता तथा दर्शकमाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

गीतको लोभैलाग्दो  हरफ—

“कुन्नी के भो जुन भुले, घाम भुले
बाटो भुले, काम भुले, घर भुले…”

ले प्रेममा परेपछि मानिसको मनोदशा कस्तो हुन्छ भन्ने भावलाई सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरेको छ। कसैलाई देखेपछि मन पराउने, मन पराएपछि माया बस्ने र माया बसेपछि पनि आफ्ना भावना व्यक्त गर्न नसक्ने अवस्थालाई गीतले सुन्दर ढंगले चित्रण गरेको छ।

नेपाली लोकदोहोरी क्षेत्रमा कमल सौराग कुनै नयाँ नाम होइनन्। २०६० को दशकमा अत्यन्त लोकप्रिय बनेको “दैलामुनि जो भन्देउ न निष्ठुरी, तिमी कहाँ छौ” बोलको  चर्चित गीतमार्फत उनले नेपाली संगीत क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गरेका थिए। संगीतकार, एरेन्जर र गायकका रूपमा लामो समयदेखि सक्रिय कमल सौरागले नेपाली संगीतलाई निरन्तर योगदान दिँदै आएका छन्।

हाल अमेरिकामा बसोबास गरिरहे पनि नेपाली गीत–संगीतप्रतिको उनको समर्पण उस्तै छ। व्यस्त जीवनशैलीका बीच पनि नेपाली संगीतको सेवा गर्न कहिल्यै पछि नपरेका कमलले नेपाल पुगेर तयार पारेको नयाँ सांगीतिक उपहार हो—‘तिमीलाई देखेर’।

गीतमा कमल सौराग सँगै चर्चित गायिका शान्तिश्री परियार ले स्वर दिएकी छन्। दुवैको स्वर संयोजनले गीतलाई थप जीवन्त र आकर्षक बनाएको छ।

गीतका शब्द चर्चित गीतकार राजकुमार बगर ले सिर्जना गरेका हुन्। उनका शब्दहरूले प्रेममा परेको एक युवक र युवतीबीचका भावनात्मक संवादलाई अत्यन्त सहज र मन छुने ढंगले प्रस्तुत गरेका छन्।

गीतका केही हरफहरूले प्रेमको गहिराइलाई अझ स्पष्ट बनाउँछन्—

“मान्छे साह्रै हुँ सिदा सिधा, म

पत्तै नपाई भैगये फिदा म…”

यता युवतीको स्वरमा सुनिन्छ—

“परेकी छु आफै छक सबै छक,
घाममा हिउँ झैँ मन पग्ल्यो अचानक…”

त्यसैगरी सामाजिक सञ्जालको युगमा प्रेमका भावनालाई समेट्दै गीतमा रोचक संवाद पनि प्रस्तुत गरिएको छ—

“फेसबुकमा बनाइनौ साथी नै,
घाइते भो मन, भा छैन जाति नै…”

र यसको जवाफमा युवती भन्छिन्—

“सक्या छैन फोन नम्बर माग्न नि,
कति शर्म लाको  हो लाग्न नि…”

यसरी गीतले आधुनिक पुस्ताको प्रेम, लाज, संकोच र आकर्षणलाई जीवन्त रूपमा उतारेको छ।

गीतमा संगीत, संगीत संयोजन तथा स्वर स्वयं कमल सौराग कै रहेको छ। भिडियोमा कमल सौराग  र उषा उप्रेती को अभिनय देख्न सकिन्छ। प्रेमभावले भरिएको कथालाई जीवन्त बनाउन दुवैले प्रभावशाली अभिनय गरेका छन्।

भिडियो निर्देशन मुकेश नेपाली ले गरेका हुन् भने छायांकन राजेश घिमिरे र उनको टोलीले गरेको हो। सम्पूर्ण प्राविधिक पक्षले गीतलाई हेर्न र सुन्न दुवै हिसाबले उत्कृष्ट बनाएको छ।

भावना, संगीत, अभिनय र शब्दको सुन्दर संयोजन बनेको ‘तिमीलाई देखेर’ केवल एउटा गीत मात्र होइन, प्रेमको एउटा आत्मीय कथा पनि हो। नेपाली संगीतप्रेमीहरूका लागि कमल सौराग को यो नयाँ प्रस्तुति अवश्य पनि विशेष उपहार बन्ने विश्वास गर्न सकिन्छ।

यो गीत भावना म्युजिक मार्फत सार्वजनिक गरिएको छ र संसारको जुनसुकै कुनामा बसेर पनि दर्शक–श्रोताले हेर्न तथा सुन्न सक्नेछन्।

नेपाली गीत–संगीतको श्रीवृद्धिका लागि निरन्तर योगदान पुर्‍याउँदै आएका कमल सौराग  र सम्पूर्ण टोलीलाई हार्दिक शुभकामना। ‘तिमीलाई देखेर’ले दर्शक तथा श्रोताको मन जित्नेमा कुनै शंका छैन।​​​​​​​

प्रतिक्रिया गर्नुहोस्

छुटाउनुभयो कि ?