बाल्टिमोरमा गौरा पर्व मनाइदै

मेरिल्याण्ड, अमेरिका ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डको आयोजनामा यस वर्ष पनि भव्य रुपमा गौरा पर्व मनाइने भएको छ। आगामी अगस्ट ३१, आइतबारका दिन मेरिल्याण्ड स्थित हिन्दु–बौद्ध मन्दिर परिसरमा विशेष कार्यक्रमका साथ पर्व मनाइने तयारी अन्तिम चरणमा पुगेको गौरा व्यवस्थापन समितिले जनाएको छ।

समितिका अनुसार हाल प्रतिमा निर्माण, बिरुडा (क्वाटी) बनाउने, ध्वजापताका साथ मन्दिर प्रांगण सजाउने, गेट निर्माण, देउडा खेलको तयारीलगायतका कार्य धमाधम भइरहेको छ।

नेपालको सुदूरपश्चिम क्षेत्रको मौलिक संस्कृति बोकेको यो पर्व विगत चार वर्षदेखि मेरिल्याण्डमा निरन्तर रुपमा मनाइँदै आएको छ। कला–संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले नै यस पर्वलाई निरन्तरता दिइएको गौरा व्यवस्थापन समितिका संयोजक तिर्थराज पाण्डेयले बताए।

आगामी आइतबार हुने कार्यक्रममा गौरा देवीको पूजा साथै देउडा खेलको विशेष प्रस्तुति रहनेछ। समितिले डिसी, मेरिल्याण्ड र वरपरका क्षेत्रमा बसोबास गर्ने सबै नेपालीभाषीलाई नेपाली पोशाकमा उपस्थित भई पर्वलाई सफल पार्न हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया गर्नुहोस्