अमेरिकामा नेपाली पाठशाला

एघार वर्षिय रेगन पोख्रेललाई आफ्नै बा-आमाले बोलेको नेपाली भाषा बुझ्न साह्रै गाह्रो पर्थ्यो। बोली फुट्ने बेला अर्थात नौं महिनाको हुँदा अभिभावकसँग यहाँ आएर पश्चिमा शैलीको वातावरणमा हुर्किरहेका उनलाई अभिभावले बोलेका कुराहरू हाउभाउबाट केही थाहा पाए पनि शब्दको अर्थ भने पटक्कै थाहा ‍हुँदैन थियो। 

त्यसमा पनि प्रत्येक शनिबार नेपालमा रहेका आफ्ना हजुरवुवा हजुरआमासँग नेपालीमा कुरा गर्नुपर्ने बाध्यताले रेगनलाई यो शनिबार नि किन आयो जस्तै हुन्थ्यो। 

अहिले निर्धक्कसँग नेपालीमा कुरा गर्न सक्ने भएका रेगन भन्छन्,‘नेपालीमा कुरा गर्न पाउदाँ मज्जा लाग्छ। जति धेरै भाषा जान्यो उति धेरै मान्छेसँग बोल्न पाईने रैछ।’ 

यस्तै, रेगनका साथी संकेत देवकोटालाई नेपाली बोल्न खासै समस्या थिएन तर लेख्न र पढ्न भने पटक्कै आउँदैन थियो। त्यहीँ पढ्न र लेख्न नआउने भएर पनि होला नौं वर्षिय संकेतलाई नेपाली बोल्न पनि खासै रूचि लाग्न छोड्यो। 

जब उनी यहाँको विद्यालयमा भर्ना भए उनलाई अंग्रेजी माध्यममा पढाईने तरिका राम्रो लाग्यो अनि बोलिँदै आएको नेपाली भाषा पनि बिर्सन थाले। आफूले बोल्दै आएको नेपाली भाषा पनि अप्ठयारो लाग्न थाल्यो। तर उनी अहिले फेरिएका छन्। 

उत्साहका साथ भन्छन् ‘मैले नेपाली बोल्न, लेख्न र पढ्न मात्र होइन हाम्रा नेपाली चाडपर्वबारे पनि थाहा पाएको छु।’ 

रेगन र संकेतमात्र हैन यहीँ जन्मिएकी एड्रिका नेपाललाई अरूले नेपाली बोलेको कस्तो अनौठौं लाग्थ्यो। जन्मिएदेखि उनले खेल्ने खेलौना, हेर्ने टिभी, स्कुलका साथीभाइले बोल्ने भाषा अंग्रेजी नै भएर होला नेपालीमा कसैले प्रश्न गरे अर्कोतिर मुन्टो फर्काइदिन्थिन्। हँसिलो अनुहारकी एड्रिकाले भनिन्, ‘अहिले त म नेपालमा रहेका आफन्तसँग पनि मज्जाले कुरा गर्न सक्छु, एकदमै रमाईलो लाग्छ।’

रेगन, संकेत र एड्रिका मात्र हैनन् यहाँका डेलावर, न्युजर्सी र पेन्सिलभेनिया राज्यका ५० जना बालबालिका आईतबार १० बजेदेखि १२ बजेसम्म पढाइहुने नेपाली कक्षामा सहभागि हुन सधैँ हतारिन्छन्। 

उनीहरूलाई पाँच जना नेपाली शिक्षिकाले स्वःस्फूर्त रूपमा नियमित पढाउँदै आईरहेका छन्। हिजो अभिभावकको करले कक्षामा सहभागि हुने उनीहरू अहिले उत्साहका साथ हौसिन्छन्। 

विद्यालयले महिनाको दुई दिन अर्थात प्रत्येक अर्को आईतबार एक-एक घण्टाका तीन वटा कक्षा सञ्चालन गरिरहेको छ। विद्यार्थीको पढाइको अवस्था हेरेर तीन वटा कक्षा  निर्धारण गरिएको छ, समूह ए, समूह बि र समूह सी। 

समूह एमा सुरूआतीका बालबालिका भर्ना गरिन्छ। भर्ना गरिने बालबालिकाको उमेरसमेत तोकिएको यहाँ स्थित डेलावर नेपाली पाठशालाले समूह सी बाट ग्रायाजुएट भएपछि उनीहरूलाई त्यो भन्दा माथिको कक्षामा लैजाने सोच भएकोसमेत जनाएको छ। 

आखिर किन यस्तो त? घडिको सुइसँगै आफ्नो तालिका दौडाइरहेका अमेरिकाका नेपालीलाई अतिकति समय छुट्याएर भए पनि आफ्ना केटाकेटीलाई नेपाली सिकाउनुपर्ने आवश्यकता किन? 

यसको एउटै जवाफ पाइन्छ, ‘नेपाली भाषा, संस्कृति, र भेषभुषालाई संसारको जुन ठाउँमा पुगे पनि जोगाएर पुस्तान्तर गर्ने।’ 

 

यहाँ नेपाली पाठशालाको सुरूआत गरी बालबालिकालाई कक्षातर्फ जान नियमित उत्प्रेरित गर्दै आएका  सामाजिक अभियन्ता विजय गैरे भन्छन्, ‘हाम्रा केटाकेटी भोलि गएर आफ्नै देशका कुटनीतिक नियोग वा नेपाली कार्यालयमा काम गर्न पनि सक्नेछन्। हाम्रो भाषा संस्कृतिले उनीहरुलाई ती क्षेत्रमा पनि आकर्षित गर्न मदत पुग्न सक्छ।’ 

यी यस्तै कुराले अभिप्रेरित भएर डेलावर नेपाली पाठशालाले यहाँ जन्मिएका वा हसकिर्एका रेगन, संकेत र एड्रिका जस्ता नेपाली बालबालिकालाई नेपाली भाषा लेख्न, पढ्न र बोल्न सिकाउन कक्षा तथा  नेपाली संस्कृति र संस्कारमा सिकाउन सामुहिक चाडवर्ष मनाउन थालिएको हो।

पाठशालाको स्थापनासँगै नेपाली बालबालिकालाई पढाउँदै आएकी प्रमिला सुवेदी सुरूदेखि नै सात समुद्रपारीका नेपाली बालबालिका नेपाली भाषा र संस्कृति जान्न उत्सुक भएको सुनाउँछिन्। 

पाठशालाले नेपाली भाषा र यससँगसम्बन्धित चाडपर्व छन् भनेर खासै चासो नदिने र स्थानीय वातावरणमा हुर्कँदै आएका पछिल्लो पुस्तालाई यसतर्फ आकर्षित गरेका छन्। ‘हामी जहाँ बसे पनि हाम्रो भाषा संस्कृति नमरोस् र यो नेपालीपन हाम्रो अर्को पुस्तालाई हस्तान्तरण गर्न सकियोस् भन्ने मुख्य उदेश्यले नेपाली पाठशालाको सुरूआत गरिएको हो’, डेलावार नेपाली पाठशालाका संस्थापक शैंलेन्द्र देवकोटाले भने। देवकोटाका अनुसार गत पुसमा पाठशालाले आफ्नो चौथौं वार्षिकोत्सव मनाएको छ। 

विदेशी माटोमा नेपाली कला, संस्कृति र भाषालाई कसरी हुर्काउन सकिन्छ भन्ने चिन्ता गर्ने अभिभावकको सामुहिक पहलमा सुरू गरिएको यो पाठशालाले नेपाली कक्षाका साथसाथै हाम्रा मौलिक चाडपर्वमा बालबालिकालाई सामुहिक सहभागिता जनाउन भन्ने लक्ष्यले नयाँ वर्ष, तीज, दसैं, तिहार, सरस्वती पूजा र होलिका कार्यक्रम समेटेर क्यालेन्टर नै सार्वजनिक गरेको छ। 

यसो त डेलावर राज्यमा सञ्चालित यो पाठशाला मात्र होइन्, अमेरिकाका विभिन्न राज्यमा नेपाली भाषा प्रवर्द्धनका लागि नेपालीबाटनै स्वस्फूर्त रुपमा नेपाली कक्षा सुरु भइरहेका छन्। 

फ्लोरिडा, मेरिल्याण्ड, भर्जिनिया, टेक्सासलगायतका राज्यहरुमा यहाँको साप्ताहिक विदाको दिन पारी शनिबार वा आइतबार वा दुबै दिन कक्षा सञ्चालन भइरहेका छन्।

फ्लोरिडा राज्यमा सञ्चालनमा आएको नेपाली पाठशालामा हाल करिब तीन दर्जन बालबालिकाले अध्ययन गरिरहेको पाठशालामा संयोजक गीता न्यौपानेले बताइन्।

करिब १६ वर्षदेखि नेपाली संस्कृति र सम्पदा संरक्षण गर्न र नेपाली भाषालाई प्रवर्द्धन गर्दै  शिक्षामा सहयोग पुर्‍यादैं आएको भर्जिनियाराज्यस्थित अमेरिका नेपाली सहयोगी समाजले पाठ्यक्रम विकासगरी प्रकाशन गरेर अमेरिकाका विभिन्न राज्यमा सञ्चालनमा आएका पाठशालाका लागि निःशुल्क सहयोग गर्दै आएको छ। 

समाजका अध्यक्ष कमल भट्टराईले आफ्नो संस्थाले नेपाली कला संस्कृति र भेषभुषालाई नेपाली समुदायमा जोगाइराख्न वार्षिक रूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताए।

एकातिर, यसरी सञ्चालनमा आएका नेपाली पाठशालामध्ये कतिपय काननी रूपमा दर्ता भएका छैनन्। नेपाली बालबालिकालाई लक्षित गरि नेपाली समुदायका लागि मात्र सञ्चालनमा आएकाले यी पाठशालाहरु निःस्वार्थ र निःशर्त नेपाली भाषाको पुस्तान्तरण प्रमुख उद्धश्य देखिन्छ। 

पाठशालाले ठूलो आकार लिँदै गए कानुनी रूपमा दर्ता गरेर अगाडि बढाउनुपर्ने हुन्छ। अर्कोतिर, कतिपय पाठशालाहरु नेपाली सामाजिक संघसंस्थाको मातहतमा सञ्चालनमा आएका छन्। फ्लोरिडा राज्यमा कानुनी रूपमा दर्ता गरिएको कम्युनीटी सेन्टरमार्फत नेपाली पाठशाला सुरु गरिएको संस्थाका नारायण न्यौपानेले बताए।

अन्तिममा, नेपाली भाषा संस्कृति, भेषभुषा, चालचलन नेपालीका पहिचान हुन्। पहिचान उसकोफ अस्तिस्वसँग जोडिएको विषय हो। 

त्यसैले, नेपालीको पहिचान संसारभरी जोगाउन सबैभन्दा पहिला हाम्रो भाषा संस्कृतिलाई जोगाउनु पर्छ। यसलाई जोगाउने सबैभन्दा सजिलो र प्रभावकारी माध्यम भनेको नयाँपस्तालाई यसबारे सिकाउनु, सहभागि गराउनु वा हस्तान्तण गर्नु नै हो। 

अमेरिकाका नेपालीले स्वःस्फुर्त रूपमा सञ्चालनमा ल्याएका नेपाली पाठशालाहरू पुस्तान्तरण गर्न लागि परेका ज्वलन्त उदाहरुण पनि हुन्। 

अर्कोतिर, पेन्सिलभेनिया, टेक्सासलगायका राज्यका केही स्थानमा नेपालीको ठूलो चाड दशैंको उपलक्ष्यमा यहाँका विद्यालयमा सार्वजनिक विदा दिने गरिएको छ। 

यहाँका सरकारी कार्यालय जस्तै स्कुल डिस्ट्रिक, यातायात कार्यालयहरुमा समेत नेपाली भाषामा पर्चा, फाराम प्रकाशित गर्नुको साथै आफ्ना वेवसाइटमा समेत नेपाली भाषामा पढ्न सकिने व्यवस्था गरिएको छ। 

यी विषयलाई विदेशमा नेपालीले आफ्नो पहिचान स्थापित गर्न थालेको सकारात्मक कदमका रुपमा लिन सकिन्छ। 

प्रतिक्रिया गर्नुहोस्