९९ प्रतिशत सेयर लगानीकर्तालाई करको नयाँ व्यवस्थाले छुदैनः अर्थमन्त्री महत

 

अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल सेयरमा गरिएको करको प्रावधान ९९ प्रतिशत सेयर लगानीकर्तालाई नलाग्ने बताएका छन्।

बुधबार आर्थिक पत्रकार समाजले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

उनले नियमित रुपमा सेयरको मात्रै कारोबार गर्नेलाई यसरी करको दायरामा ल्याउन यो नीति ल्याइएको बताएका छन्। 

यस्तो कर कति कारोबारमा लगाउने, कस्तो कारोबार गर्नेलाई नियमित कारोबार भन्ने विषय परिभाषित गर्न बाँकी रहेको महतले बताएका छन्। 

अहिले सेयर लगानीकर्ताहरूले अल्पकालिन लगानीमा ७.५ प्रतिशत र दीर्घकालिन लगानीमा ५ प्रतिशत अग्रिम रुपमा पुँजीगत लाभकर तिर्ने गर्छन्। नाफामा कर कटौती भइरहेपनि घाटा हुँदा लगानीकर्ताले यस्तो नोक्सान समायोजन गर्न पाइरहेका छैनन्। 

यो करको व्यवस्थासँगै नोक्सानको पनि समायोजन गर्न सकिने आन्तरिक राजस्व विभागले बताउँदै आएको छ। 

तर, लगानीकर्ताहरू भने अहिले पुँजीगत लाभकर मात्र तिरिरहेको अवस्थामा यो नयाँ व्यवस्थासँगै आयकर समेत लाग्ने भन्दै अत्तालिएका छन्। 

आयकर लाग्ने अवस्था आएमा अधिकतम ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने भन्दै लगानीकर्ता आत्तिदा मंगलबार नेप्से परिसूचक ५३ अंकले घटेको थियो। 

बुधबारको कारोबारमा पनि बजार घटिरहेको छ।
 

प्रतिक्रिया गर्नुहोस्